हेटौंडाः अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला समितिको छात्रा विभागले विभिन्न मागसहित आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ ।
अखिल क्रान्तिकारी मकवानपुरका सहसचिव एवम् छात्रा विभाग प्रमुख शर्मिला थोकरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, ‘पछिल्लो समय देशभर शिक्षालयहरूमा छात्राहरू विभिन्न खाले हिंसाका शिकार भइरहेका छन् । त्यसमध्ये यौनहिंसा प्रमूख रहेको छ । छात्राहरू शिक्षालयमा नै असुरक्षित भइरहेका छन् ।’
मोरङको लेटाङ नगरपालिका, चितवनको माडी नगरपालिका, सल्यान जिल्ला लगायत देशभर छात्राहरूमाथि भइरहेको यौनहिंसाविरुद्धमा सरकारले चालेको अपर्याप्त र सुस्त कदमप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालमा यससम्बन्धी कडा कानुन नहुनु र भएको कानुन पनि सही तरिकाले कार्यान्वयन नहुनु प्रमूख समस्या रहेको छ । अपराधीलाई कानुनी दायरामा ल्याउनुको सट्टा उल्टै अपराधीलाई नै उन्मुक्ति दिने प्रवृत्ति बढिरहेको छ । पीडितलाई न्यायको प्रत्याभूति हुन सकिरहेको छैन ।
‘देभरभर भइरहेका छात्रामाथि यौनहिंसाको घटनाहरूको सत्यतथ्य पत्ता लगाई मुलुकी अपराध संहिता –२०७४ को भाग–२, परिच्छेद –१८ को धारा–२१९, २२०, २२१, २२२, २२३, २२४ र २२५ मा व्यवस्था भएबमोजिम दोषीलाई कारवाही गर्न र छात्राहरूलाई शिक्षालयहरूमा सुरक्षित र हिंसारहित वातावरणमा अध्ययन गर्न पाउने अधिकारको सुनिश्चितता गर्न जोडदार माग गरिन्छ ।’ ज्ञापनपत्र उल्लेख गरिएको छ ।