हेटौंडाः हेटौंडा–१५, शिखरपानीस्थित चुरियामाई माविको व्यवस्थापन समितिका सदस्यहरु छानिएका छन् । वडा अध्यक्ष महारत्न लामा र हेटौंडा उपमहानगरपालिकाको शिक्षा अधिकृत सुनिता महर्जनको सहजीकरणमा अभिभावकबीच सहमति गरेर व्यवस्थापन समिति सदस्य छनोट गरिएको हो ।
व्यवस्थापन समिति सदस्य चयन गरे पनि अध्यक्ष भने चयन हुन सकेको छैन । एकजना महिला सदस्य भने मनोनित गर्न बाँकी रहेको जानकारी गराउनुहुँदै विद्यालयका प्रधानाध्यापक केशव खतिवडाले एकजना महिला सदस्य मनोनित गरेर सदस्यमध्यबाट एकजनालाई अध्यक्ष चयन गरिने बताउनुभयो ।
निवर्तमान अध्यक्ष सुनिल मोक्तानको अध्यक्षतामा शुक्रबार अभिभावक भेला भएको थियो । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा अभिभावक भेलाको उद्घाटन कार्यक्रम भएको थियो । अभिभावक भेलाबाट शुक्रबार महिला सदस्य सुन्तली गोले र सानुमाया थिङ मात्रै चयन गर्न सफल भएको थियो । ६ जना आकांक्षी भएपनि सहमतिमा गोले र थिङ सदस्यमा निर्वाचित हुनुभएको हो ।
यता खुलातर्फ भने २ जना सदस्यका लागि ७ जना आकांक्षी भएपछि सदस्य चयन हुन सकेको थिएन । सोमबार वडा अध्यक्ष लामा र शिक्षा अधिकृत महर्जनको सहजीकरणमा खुलातर्फ आकांक्षीमध्ये तीनजनाबीच सहमति भएसँगै खुलामा विरोज थिङ र प्रेमबहादुर वाईबालाई सदस्यमा चयन गरेर हर्करत्न लामालाई सोमबारकै बैठकले सदस्य मनोनित गरिएको प्रधानाध्यापक केशव खतिवडाले जानकारी दिनुभयो ।
खतिवडाका अनुसार ७ जना आकांक्षीमध्ये ४ जनालाई सहमति गरेर उम्मेदवारी फिर्ता गर्न लगाई ३ जनामध्ये दुईजनालाई गोलामार्फत सदस्य निर्वाचित गरिएको हो भने अर्का एकजनालाई सदस्यमा मनोनित गरिएको हो । विद्यालय व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधि राजु गौतम रहनुभएको छ भने वडा अध्यक्ष महारत्न पदेन सदस्य र प्रधानाध्यापक पदेन सदस्यसचिव हुने व्यवस्था छ ।
२०७४ सालदेखि कक्षा ११ र १२ मा शिक्षाशास्त्र संकाय पनि सञ्चालन गरिरहेको विद्यालयमा ४ सय २४ जना विद्यार्थी अध्ययनरत छन् । तामाङ समुदायको बाहुल्य रहेको विद्यालयमा खेलमैदान, भवन पर्याप्त छ । विद्यार्थी पनि नियमित विद्यालय आउने गरेको प्रधानाध्यापक खतिवडा बताउनुहुन्छ ।