Home मुख्य समाचार मकवानपुरगढी गाउँपालिका शनिबार बालमैत्री घोषणा हुने

मकवानपुरगढी गाउँपालिका शनिबार बालमैत्री घोषणा हुने

बालमैत्री पालिका घोषणाको तयारी पूरा भएको विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बालमैत्री स्थानीय शासन समितिका सहसंयोजक कविराज हुमागाई ।

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका बालमैत्री घोषणा हुने भएको छ । आर्थिक वर्ष २०७६/७७ मा बालमैत्री स्थानीय तह घोषणाको तयारी गर्ने निर्णय गरेको मकवानपुरगढी गाउँपालिकाले २०७७ साल माघ १९ र २० गते बालमैत्री स्थानीय शासन नीति अबलम्बन गर्ने सामूहिक प्रतिवद्धता गरेको थियो । मकवानपुरगढी गाउँपालिकाले चैत १२ गते शनिबार बालमैत्री गाउँपालिका घोषणा गर्दैछ ।

बिहीबार पालिकामै पत्रकार सम्मेलन गरेर गाउँपालिकाले प्रमुख चुनौतिको रुपमा बालविवाहलाई रोक्न सफल भएको र आगामी दिनमा पनि बालविवाह हुन नदिन आवश्यक सतर्कता कायमै राखिरहने गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले जानकारी दिनुभयो । गाउँपालिकाका ५ हजार ३ घरधुरी तथा जनसंख्या २५ हजार १ सय ५ रहेको छ । ८ हजार २ सय ९६ बालबालिका रहेको पालिकाले विद्यालय जाने उमेरका सवै बालबालिकालाई विद्यालय जाने सुनिश्चित गरेको पनि अध्यक्ष हुमागाईको भनाइ छ । उहाँले बालमैत्री घोषणापछि पनि आवश्यक काम गर्न पालिकाले ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

बालमैत्री पालिका घोषणाका लागि बालमैत्री स्थानीय शासन गाउँपालिका समिति गठन गरेको मकवानपुरगढी गाउँपालिकाले बालमैत्री स्थानीय शासन वडा समिति ८ वटै वडामा गठन गरेको बालमैत्री स्थानीय शासन समितिका सहसंयोजक कविराज हुमागाईले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकास्तर तथा ८ वटै वडामा गाउँपालिका बालअधिकार समिति पनि गठन गरिएको छ । पालिकाका विद्यालय, स्वास्थ्य संस्था, वडा, पालिकास्तरमा बालअधिकार समितिमा बालबालिकाको सहभागितालाई समेत सुनिश्चित गरिएको गाउँपालिकाले जनाएको छ ।

Exit mobile version