राजनीतिक अराजकतालाई स्वीकार्दै गरिएको सहमतिपत्र ।

हेटौंडाः सार्वजनिक सम्पत्ति तोडफोड भएको घटनामा दोषीलाई कारवाही गर्नुको सट्टा राजनीतिक दलहरुबीच अराजकतालाई स्वीकार्दै दोषीलाई कारवाही नगर्ने सहमति भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको ८ नम्बर वडा कार्यालयमा टेबल तोडफोड गर्नुका साथै वडा अध्यक्षको कुर्सी सडकमा फाल्ने जस्ता अराजक क्रियाकलाप र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको घटनामा दोषीलाई कारवाही गर्ने भन्दा दलहरुबीच सहमति भएको छ । दलहरुबीचको सहमतिमा स्थानीय प्रशासन र प्रहरीसँगै सरोकारवाला सरकारी निकायका अधिकारीको पनि हस्ताक्षर रहेको छ ।

राजनीतिक अराजकतालाई स्वीकार्दै गरिएको सहमतिपत्रमा हस्ताक्षर गर्नेहरु ।

दलहरुबीचको सहमतिले आगामी दिनमा अराजकताले प्रश्रय पाउने जोखिम छ । गत शुक्रबार दिउँसो कार्यालय समयमा वडा अध्यक्ष वडा कार्यालयमा उपस्थित नभएको भन्दै वडा सदस्य र कर्मचारीमाथि नै दूव्र्यवहार गर्नेलाई कारवाही नगर्ने विषयमा आइतबार राजनीतिक दलहरुबीच आपसी समझदारी बनेको छ । वडामा नेकपा एमालेको प्रतिनिधित्व रहेको र नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादीका नेता, कार्यकर्ताले वडा कार्यालयमा तोडफोड गरेका थिए ।

नेकपा एकीकृत समाजवादीका ८ नम्बर वडा अध्यक्ष बैकुण्ठप्रसाद सापकोटासहित अच्युतम पौडेल र सरोज श्रेष्ठसहितको समूहले वडा कार्यालयमा तोडफोड गरेको जनप्रतिनिधि र कर्मचारीमाथि अभद्र व्यवहार गरेको घटनामा आइतबार स्थानीय प्रशासनकै रोहवरमा सहमति भएको हो ।

सहमतिपत्रमा नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, सचिव विष्णुप्रसाद दाहाल, नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव भीम पाख्रिन, निमित्त प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रे, प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङसहित सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रतिनिधिको समेत उपस्थितिमा सहमति भएको छ ।