लागुऔषधसहित पक्राउ परेका दुईजनालाई प्रहरीले सार्वजनिक गर्दै ।

हेटौैंडाः मकवानपुर प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । शनिबार हेटौैंडाका फरक–फरक स्थानबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।

शनिबार प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१४ घर भई हाल हेटौंडा–५ मा डेरा लिई बस्ने २६ बर्षीय सन्देश दुलाललाई लागुऔषधसहित पक्राउ गरको छ । दुलालको डेरामा प्रहरीले सुरक्षाजाँच गर्दा लुकाई छिपाई राखेको लागुऔषध डाईजेपाम १८ एम्पुल, फेनारगन १६ एम्पुल, नुर्फिन १६ एम्पुल गरी ५० एम्पुल फेला परेको जनाइएको छ ।

यस्तै शनिबार नै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले हेटौंडा–४ मा शंकास्पदरुपमा हिँडिरहेका जिल्ला ओखलढुंगा पोखरेली गाउँपालिका–४ घर भई हाल हेटौंडा–४ मा डेरा लिई बस्ने ३० बर्षीय गणेश प्रसाद घिमिरेलाई लागुऔषधसहित पक्राउ गरेको छ । घिमिरेलाई प्रहरीले सुरुक्षाजाँच गर्दा उसको साथबाट लुकाई छिपाई राखेको लागुऔषध डाईजेपाम ५ एम्पुल, फेनारगन ४ एम्पुल, नुर्फिन ५ एम्पुल गरी १४ एम्पुल फेला परेको जनाइएको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रवक्ता रिमालले बताउनुभयो ।