हेटौंडाः मकवानपुरको पिप्ले युवा क्लबले ए डिभिजन क्लब हिमालयन शेर्पालाई शून्यको विरुद्ध ३ गोलले पराजित गरेको छ । सर्लाही जिल्लाको बागमती नगरपालिकामा जारी छैठौं संस्करणको राजर्षी जनक गोल्डकप प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा ए डिभिजन क्लबलाई पराजित गर्दै साविक विजेता पिप्ले युवा क्लब सेमीफाइनलमा प्रवेश गरेको छ ।

पिप्ले युवा क्लबका लागि रुपक लामा, ऋतिक खड्का र जनक कार्कीले गोल गरे । पिप्ले युवा क्लबका रुपक लामा म्यान अफ द म्याच घोषित भए । लामाले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
पिप्ले युवा क्लबले पहिलो हाफमै दुई गोल गरेको थियो भने तेस्रो गोल दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेको हो । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल चैत १३ गते हुनेछ ।