वडा कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न प्रजिअलाई ज्ञापनपत्र हस्तान्तरण गर्नुहुँदै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको ८ नम्बर वडा कार्यालयमा गत शुक्रबार तोडफोड गर्नेलाई कारबाही गर्न माग गर्दै वडा कार्यालय र वडावासीले मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रैलाई ज्ञापनपत्र बुझाएको छ । आइतबार प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाइएको हो ।

गत शुक्रबार वडा कार्यालयमा भएको तोडफोड, गालीगलौज, वडा कार्यालयका महिला जनप्रतिनिधि तथा महिला कर्मचारीमाथि दुव्र्यवहार भएको उल्लेख गर्दै ज्ञापनपत्र बुझाइएको छ । टेबल तोडफोड गर्नुका साथै अध्यक्षको कुसी सडकमा फ्यालेर पेट्रोल लगाई आगजनी समेत गर्न खोजिएको भन्दै वडा कार्यालयले गैरकानुनी र अराजक गतिविधिबाट लज्जित भई अपमानित भएको उल्लेख गरेको छ । घटनामा संलग्नलाई अविलम्ब पक्राउ गरी कानुन बमोजिम हदैसम्मको कारबाही गरी वडामा शान्ति सुरक्षा कायम गर्न, निर्वाधरूपमा जनताका सेवा कायम गराइराख्न, महिला कर्मचारीको सुरक्षा गर्न वडाले माग गरेको छ ।