Home खेलकुद राजर्षि जनक गोल्डकप फुटबलः साविक विजेता पिप्ले युवा क्लब हिमालयन शेर्पासँग भिड्ने

राजर्षि जनक गोल्डकप फुटबलः साविक विजेता पिप्ले युवा क्लब हिमालयन शेर्पासँग भिड्ने

गत वर्ष विजयी हुँदै प्राप्त गरेको रनिङशिल्ड आयोजकलाई फिर्ता गर्नुहुँदै पिप्ले युवा क्लबका प्रशिक्षक सुविन घिमिरे ।

हेटौंडाः सर्लाहीको बागमती नगरपालिकामा जारी छैठौं संस्करणको राजर्षि जनक गोल्डकपको क्वाटरफाइनल खेलमा हेटौैंडाको पिप्ले युवा क्लबले हिमालयन शेर्पासँग भिड्ने भएको छ । पिप्ले र शेर्पाबीचको खेल बागमती नगरपालिका–११ स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा हुने पिप्ले युवा क्लबका प्रशिक्षक सुविन घिमिरेले जानकारी दिनुभयो ।

साविक विजेता पिप्ले र हिमालयनबीचको खेल आज आइतबार दिउँसो ३ बजे हुने प्रशिक्षक घिमिरेले जानकारी दिनुभयो । ‘गत वर्षको प्रतियोेगितामा सहभागी खेलाडीहरु प्रदेश प्रतियोेगितामा व्यस्त छन् । तर पनि नयाँ खेलाडीहरु थप गरेका छौं । यो वर्ष पनि गोल्डकप हात पार्ने लक्ष्य छ’, प्रशिक्षक घिमिरेले बताउनुभयो ।

गत बुधबार भएको उद्घाटन खेलमा ध्रुवतारा स्पोर्टिङ क्लब झापालाई १–० गोलले पराजित गर्दै शेर्पाले पिप्लेसँगको भेट पक्का गरेको हो । पिप्ले युवा क्लब यसअघिको पाँचौं संस्करणको प्रतियोगितामा विजेता बनेको थियो । मकवानपुरमा अहिलेसम्म सर्वाधिक राशिका गोल्डकप जित्ने पिप्ले युवा क्लब बनेको छ ।

प्रतियोगितामा लिग विजेता मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, हिमालयन शेर्पा क्लब र न्युरोड टिम (एनआरटी) गरी पाँचवटा ‘ए’ डिभिजनका टोली सहभागी रहेका छन् । त्यस्तै, नवजनजागृति युवा क्लब सिमरा, सुदूरपश्चिम–११ धनगढी, केबीए ग्लोबल फुटबल क्लब चितवन, ध्रुवतारा स्पोर्टिङ क्लब झापा–११, विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन र आयोजक बागमती युवा क्लब प्रतियोगितामा सहभागी रहेका छन् ।

प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल चैत १३ गते हुनेछ ।

Exit mobile version