रियाज कार्कीलाई मनमाया स्मृति गजल पुरस्कार प्रदान गरिँदै ।

हेटौंडाः हेटौंडा– ५ स्थित बालज्योति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रियाज कार्कीलाई मनमाया स्मृति गजल पुरस्कार–२०७८ प्रदान गरिएको छ । मावि तहका विद्यार्थीबीच भएको गजल प्रतियोगिताबाट उत्कृष्ट हुन सफल कार्कीलाई २ हजार ५ सय रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ ।

सात जना प्रतियोगी मध्येबाट कार्की सर्वोकृष्ट हुन सफल भएको हो । पुरस्कारका संस्थापक दीपक गौतमले कार्कीलाई नगदसहित सम्मान गर्नुभयो । गौतमले हरेक बर्ष आफ्नी हजुरआमाको स्मृतिमा उक्त पुरस्कार प्रदान गर्दै आउनुभएको छ । १६ गजलका प्रतियोगीहरु मध्येबाट ७ जना प्रतियोगीको गजल वाचन, विषयवस्तु, शब्द र लेखाइको आधारमा निर्णायक विश्वनाथ सञ्जेल र पुरुषोत्तम आचार्यले एकजना प्रतियोगीलाई उत्कृष्ट घोषित गर्नुभएको हो ।

११८ औं गजल यात्राको अवसरमा उक्त पुरस्कार वितरण गर्नुको साथै गजल यात्रा–३ समेत विमोचन गरिएको छ । गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारीको सभाध्यक्षता तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सोही अवसरमा सुस्केरा परिवार मकवानपुरले सामुहिक गजल वाचन गरेका छन् ।