रजनी पौडेल

‘टाढा–टाढा जानु छ साथी एक फेर हाँसिदेऊ’, आफ्नै शब्द रचना, संगीत र स्वरमा नेपाली गीत संगीतको रचना गर्न सक्ने क्षमता भएका व्यक्ति कमै सङ्ख्यामा पाइन्छ । शब्दको गहनता एकातिर छँदैछ अर्कोतिर ती शब्दलाई लयमा रुपान्तरण गरी उपयुक्त सङ्गीत संयोजनले गीतलाई जीवन्त र कालजयी बनाउन सक्ने खुबी त्यस्ता व्यक्तित्वहरुमा मात्र पाइन्छ जो नेपाली गीत सङ्गीतलाई मन मुटुमा राखेर बाँचिरहेका हुन्छन् । यस्तै एक व्यक्ति हुन् बच्चु कैलाश ।

वि.सं. १९९५ साउन १५ गते काठमाण्डौमा जन्मिएका बच्चु कैलाश जन्मिएका केहि दिनमै आमाबिनाको टुहुरो बन्न पुगे । सौतेनी आमाको रुखो मायामा हुर्किएका बच्चु कैलाश सानैदेखि एकान्त मन पराउने साथीभाइ र आफन्तसँग घुलमिल हुन नखोज्ने उनको एक्लो प्रवृत्तिको साहरा भने गीत सङ्गीत नै थियो । भनिन्छ उनी सानामा ज्यादै रुन्थे हुर्किदै गर्दा गीत सङ्गीतको भावमा डुबेर रुन थाले । यसरी उनी मनको पीडालाई गीतको भाव र भाकामा भुलाएर रुँदै गर्दा आफ्नै शब्द र भाकामा गीत गाउँदै रुँदै र रुवाउँदै सङ्गीतका सच्चा पारखी भएर निस्किए । पाँच बर्षको कलिलो उमेरदेखि गीत गाउन सुरु गरेका बच्चु कैलाशले गीत गाएको मन नपराउने आफन्तहरु पनि उत्तिकै थिए । उनले कक्षा आठमा पढ्दै गर्दा रेडियो नेपालमा गीत गाउने अवसर पाए । त्यति बेला उनले आफ्नै रचना र सङ्गीतमा रहेको “निराश नहोउ साथी, आँसु आँसुमै डुबेको छ जीवन, नडराउ साथी” बोलको गीत गाएपछि भने बच्चु कैलाशले एउटा उचाइ प्राप्त गरे । त्यही गीत सुनेको भोलिपल्ट मास्टर रत्नदास प्रकाश बच्चु कैलाशलाई खोज्न निस्किए । यसरी रत्नदास प्रकाशसँगको संसर्गमा रहेपछि बच्चु कैलाशको जीवनमा कायापलट भयो । उनी गीत सङ्गीतको क्षेत्रमा यसरी खारिए कुनै बेला उनी राजदरबारमा सङ्गीतको प्रशिक्षक भएर राजा महेन्द्रका छोराछोरीलाई सङ्गीत सिकाउने काम पनि गरे ।

जीवनलाई दुखैले खार्दो रहेछ । मान्छेको जीन्दगीलाई आपत् विपत् र संघर्षले नै मान्छे बनाउँदो रहेछ । साथै जीवनमा मान्छेलाई चोट परेपछि नै उसमा चमक पैदा हुँदो रहेछ । हुन सक्छ, त्यसैको परिणामले बच्चु कैलाश पनि नेपाली साङ्गीतिक आकाशका एउटा चम्किलो तारा बने, सङ्गीतका अजम्बरी बुटी बने र गायनका विभूति बने । नेपाली भाषा बोलिने जुनसुकै कुनामा उनी प्रिय छन् । आफैं गीत लेख्दै, लय खोज्दै अनि सङ्गीत भर्दै गीत गाउने उच्चकोटीका थोरै गायकहरु मध्ये पनि एक हुन् बच्चु कैलाश । कल्पनाको गगन, बिर्सन होइन, त्यो आँखाले लौन मलाई मा¥यो, तिमीले होइन, जुनेली रातमा लगायतका झण्डै दुई हजार बढी गीतमा कालजयी आवाज दिएका बच्चु कैलाशले नेपाली सङ्गीतको क्षेत्रमा लगभग दुई दशकको समय उनले बिताएका छन् । उनी जति समय यस क्षेत्रमा रहे पनि उनले गीत सङ्गीतलाई एउटा उचाइमा पुर्‍याए । सङ्गीतको क्षेत्रमा उनले आफ्नो जोडी जमाएका थिए । बच्चु कैलाश र पुष्प नेपालीको जोडी नेपाली सङ्गीतको क्षेत्रमा सबैले मन पराएको जोडी मध्यको एक थियो । पुरुष पुरुषबीचको युगल गीत गायनको सुरुवात गरेका बच्चु कैलाशले नेपाली सङ्गीतमा नयाँ धार प्रवेश गराएका थिए ।

अम्बर गुरुङ, नातीकाजी, बुलु मुकारुङ, शिवशंकर, पुष्प नेपाली, क्षेत्रप्रताप अधिकारी लगायतका सङ्गीतका विशिष्ट व्यक्तित्वहरुसँगको सुखद् व्यवहार र सरसहयोगबाट बच्चु कैलाशले सफल साङ्गीतिक यात्रा पूरा गरेका छन् ।
वि.सं. २०४७ देखि भने बच्चु कैलाश एकाएक सङ्गीतको क्षेत्रबाट पलायन भए जस्तै देखिन्छन् । यसो हुनुमा उनका आत्मिय मित्र पुष्प नेपालीको मृत्यु हुनुले पनि हो भन्ने एक खालको अडकलाजी रहेको छ भने अर्कोतिर उनी कसैको अगाडि झुक्न नचाहने स्वाभिमानी गायक हुन् । न त उनी कसैको डर धम्कीमा डराउँछन् न त पैसामा नै बेचिन्छन् । कुनै बेला मन्त्रीका घर भित्र हुने विवाह, ब्रतबन्ध अनि यस्तै समारोहका बीच गायक गायिकालाई उपस्थित गराएर त्यहाँ रहेका पाहुनाहरुको इशारामा गीत गाउन लगाएपछि भने यो देखेर बच्चु कैलाश निराश भए । नेपाली गीत सङ्गीत र गायक गायिकाहरुले सहनु परेको हेपाहा प्रवृत्तिबाट दिक्क भएर टाढा हुन गएका हुन् भन्ने भनाइ पनि रहेको छ । उनी यसरी गुमनाम छन् न त उनको भेट कुनै कलाकर्मीसँग हुन्छ न त कुनै पत्रकारसँग न त कुनै साहित्यकारसँग नै हुन्छ । यसरी श्रव्य, दृश्य र छापाका जुनसुकै माध्यमबाट उनी टाढा छन् । उनी कुनै पुरस्कार स्वीकार्दैनन् । वैद्घिकताले भरिएका जागरुक कलाकार यसरी पलायन भइरह“दा नेपाली सङ्गीत जगतले बेहोरिरहेको क्षतिप्रति कसलाई चासो छ र ?