हेटौंडाः प्रथम प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत् आज शनिबारबाट हेटौंडामा तेक्वान्दो प्रतियोगिता सुरु हुँदैछ । हेटौंडा–४, पारिजातपथस्थित कभर्डहलमा खेल हुने खेल संयोजक माधव कोइरालाले बताउनुभयो । प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाको सहभागिता रहेको छ ।
प्रतियोगिताअन्तर्गत् चैत्र ६ गतेदेखि काठमाडौंमा एथलेटिक्सका खेलहरु हुनेछ भने सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँतेका खेल हुने बागमती प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । त्यस्तै, काभ्रेमा चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखि बक्सिङ प्रतियोगिता हुने परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले बताउनुभयो ।
प्रतियोगिताका लागि आठ करोड ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । विभिन्न खेलमा करिब २ हजारभन्दा बढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।