हेटौंडा बसपार्कबाट लागुऔषधसहित पक्राउ परेका २ जनालाई प्रहरीले सार्वजनिक गर्दै ।

हेटौंडाः हेटौंडा बसपार्क क्षेत्रबाट लागुऔषधसहित २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१०, बसपार्क क्षेत्रबाट चितवन जिल्लाको राप्ती नगरपालिका–८ का २६ वर्षीय अमृत सुनार र चितवन जिल्लाका खैरहनी नगरपालिका–७ का २७ वर्षीय किसन विश्वकर्मालाई लागुऔषधसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट डाइजेपाम–१७ एम्पुल, फेनार्गन–१९ एम्पुल र नुर्फिन–१५ एम्पुल गरी जम्मा ५१ एम्पुल बरामद गरेको प्रहरीले जानकारी दिएको छ । यस्तै उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ४० मिलीग्राम पनि बरामद भएको प्रहरीले उल्लेख गरेको छ । उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।