हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा भएको बकैया कला–साहित्य महोत्सव शनिबार सकिएको छ । झरना साहित्यिक परिवार मकवानपुरको २९ औैं वार्षिकोत्सवको अवसरमा बकैया गाउँपालिकामा शुक्रबार र शनिबार दुई दिन महोत्सव आयोजना गरिएको थियो ।
शनिबारको कार्यक्रममा ‘स्थानीय तहमा प्रज्ञा प्रतिष्ठान अभ्यासः कति सहज, कति असहज ?’ र ‘स्थानीय सरकार सञ्चालनको ५ वर्ष’ विषयमा बहस गरिएको थियो । यस्तै, महोत्सवमा कविता वाचन, सांस्कृतिक कार्यक्रम गरिएको थियो ।
बकैया गाउँपालिकाको आर्थिक सहयोगमा बकैया–३, हात्तीसुँडेमा महोत्सव भएको हो । महोत्सवमा कविता, गजल, मुक्तक विशेष कार्यक्रमहरुका साथै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले खैँजडी भजन, तामाङ, माझी, राईलगायतका जनजातिका कला संस्कृतिको प्रस्तुतिका साथै साहित्यकार, साहित्यसेवी, कलाकार, नवप्रतिभा तथा संस्थाहरुलाई पुरस्कृत गरिएको थियो ।
झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा बकैया गाउँपालिकाको अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बकैया गाउँपालिकाका उपाध्यक्ष सरला बोलखे, साहित्यकार, साहित्यसेवी, कलाकारहरुको आतिथ्यता रहेको थियो ।