हेटौंडाः ज्ञानदीप बहुद्देश्यीय सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष जीधराज ढकालको सभाध्यक्षता र बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
मन्त्री मुक्तानले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा वार्षिक प्रतिवेदन पेश र प्रतिवेदनहरुमाथि छलफल र बहस भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा संस्थाको आम्दानी तीन करोड अठार लाख चालीस हजार आठ सय ६७ रुपैयाँ आम्दानी भएको र आर्थिक वर्ष २०७८/०७९ मा संस्थाको आम्दानी चार करोड छ लाख चालीस हजार रुपैयाँ प्रस्तावित गरिएको छ । संस्थामा अहिले ५ सय ९८ जना शेयर सदस्य रहेका छन् ।
कार्यक्रममा संस्थापक प्रिन्सिपल ईश्वरप्रसाद लामिछानेलाई नगदसहित सम्मानपत्र, साझाकुरा दैनिकका प्रकाशक सविन न्यौपानेलाई ५ हजार ५ सय ५५ रुपैयाँ राशिको ज्ञानदीप पत्रकारिता पुरस्कार–२०७८, सेवानिवृत्त संस्थापक सदस्य नितु शर्मालाई सम्मान, सरस्वती मन्दिरमा ढलौटको मूर्ति सौजन्य गर्ने प्राथमिक तहका शिक्षक मञ्जु नेपाललाई सम्मान एवम् प्रमुख अतिथि सामाजिक विकासमन्त्रीलाई मायाको चिनो प्रदान गरिएको थियो ।
