हेटौंडाः ग्रामीण महिला सेवा केन्द्र मकवानपुरको आयोजनामा सहकारीहरुको क्षमता अभिवृद्धिका लगि ३ दिने प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम शनिबार सपन्न भएको छ । तालिममा सहभागी हेटौंडा उपमहानगरपालिकाका विभिन्न सहकारीका २५ जना प्रतिनिधि तथा व्यवस्थापकहरुको लेखन अभिवृद्धिका लागि तालिम सञ्चालन गरिएको कार्यक्रम सञ्चालक अचला शर्माले बताउनुभयो ।
ग्रामीण महिला सेवा केन्द्र मकवानपुरको सभाहलमा सञ्चालन भएको तालिममा पहिलो दिन हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा तालिम उद्घाटन भएको थियो । तालिममा प्रशिक्षक दीपेन्द्र पाठकले सहजीकरण गर्नुभएको थियो ।
शनिबार भएको तालिम समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीना लामाको प्रमुख आतिथ्य तथा ग्रँमीण महिला सेवा केन्द्र मकवानपुरका अध्यक्ष उर्मिला कार्कीको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष कार्कीले सहकारी संस्थाको बचत तथा ऋण लगानीलाई सहीरुपमा व्यवस्थापन गर्न हेटौंडा उपमहानगरपालिकाको एक लाख रुपैयाँ बजेटमा तालिम सञ्चालन गरिएको बताउनुभयो । तालिम समापन कार्यक्रममा प्रमुख अतिथि लामा, संस्थाका अध्यक्ष कार्की, हेटौंडा उपमहानगरपालिकाको सहकारी विभाग प्रमुख हिम पौडेललगायतले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
