नेपालमा अधिकांश विकास निर्माणका कामहरु तोकिएको समयमा सम्पन्न हुन सकेका छैनन् । अझ सरकारी लगानीमा निर्माण भइरहेका सबैजसो विकास आयोजनाहरु निर्धारित समयमा पूरा नभएर आयोजना थप खर्चिलो र बोझिलो बनिरहेको छ । आयोजना कार्यान्वयनमा देखिएका कानुनी अप्ठेरालाई सहज बनाउने भन्दै राष्ट्रिय गौरबका रुपमा घोषित आयोजनाहरुसमेत दोब्बर अवधिमा पनि सम्पन्न हुन सकेका छैनन् । निर्माण सुरु भएको ७–८ वर्षसम्म पनि ३०–४० मिटरका मोटरेबल पुल निर्माण सम्पन्न नभएर पटकपटक म्याद थप्नुपर्ने विडम्बनालाई हेटौंडाको एउटा मिनी रंगशालाले चुनौती दिएको छ । हेटौंडा उपमहानगरपालिका–५ को क्याम्पाडाँडामा निर्माण भइरहेको पिप्ले क्याम्पा रंगशाला एक वर्षमै निर्माण भएको छ ।
पिप्ले युवा क्लब र क्लब अध्यिक्ष सुशील घिमिरेको अगुवाइमा रंगशाला निर्माण भएको हो । रंगशाला निर्माण सम्पन्न नभए शुक्रबार उद्घाटन गरिएको छ । शनिबार प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम गर्नुपर्ने भएकाले रंगशालाको उद्घाटन शुक्रबार नै भएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा निर्माण सुरु गरिएको रंगशाला निर्माण गर्न हेटौंडा उपमहानगरपालिका, ५ नम्बर वडा कार्यालय र व्यक्तिगतरुपमा धेरैको सहयोग प्राप्त भएको थियो । हालसम्म करिब एक करोड ७० लाख खर्च भएको रंगशालामा शनिबार प्रथम प्रदेश खेलकुदको भव्य उद्घाटन पनि भइसकेको छ । रंगशालामा बागमती प्रदेश खेलकुदअन्तर्गत् पुरुष फुटबलका खेलहरु हुनेछ ।
अहिले सर्वत्र प्रशंसा पाइरहेको र हेटौंडाकै गौरब बन्नसक्ने पिप्ले क्याम्पा रंगशाला ऐतिहासिक पनि बनेको छ । रंगशालाले पहिलो औपचारिक कार्यक्रमका रुपमा प्रथम प्रदेश खेलकुद प्रतियोगिता उद्घाटनको अवसर पाएको छ । त्यसो त हेटौंडाकै गौरीटार रंगशालाको पनि आफ्नै ऐतिहासिक महत्व छ । गौरीटार रंगशालामा विसं २०४० सालमा देशभरका नगरपालिकाहरुको सहभागितामा प्रथम अन्तरनगर खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । गौरीटार रंगशालालाई केन्द्रीय खेलकुद प्रतिष्ठानको रुपमा विकास गर्ने महत्वाकांक्षी योजना सुरु भएको डेढ दशक हुन लाग्दासमेत योजनाले गति लिन सकेको छैन । पछिल्ला वर्षहरुमा बागमती प्रदेश सरकारले समेत बजेट विनियोजन गरेर गौरीटार रंगशालामा पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको भए पनि यो अझै अपूरै छ । करिब हेटौंडा–१४ नयाँबस्तीमा फुटबल प्रशिक्षण निर्माण गर्न आवश्यक जग्गा प्राप्तिका लागि एन्फाले हेटौंडा उपमहानगरपालिकासँग सम्झौता गरे पनि निर्माण सुरु हुन सकेको छैन ।
बागमती प्रदेशको राजधानी हेटौंडामा खेलकुद प्रतियोगिता सञ्चालनका लागि कुनै पनि रंगशाला नभएको अवस्थामा पिप्ले क्याम्पा रंगशालाले धेरै राहत दिने निश्चित छ । करिब ५ बिगाह क्षेत्रफलमा निर्माण भएको रंगशालाको प्यारापिटमा १० हजार दर्शक अटाउनेछन् । निर्माण सकिन अझै एक महिना लाग्ने क्याम्पा रंगशाला पर्याप्त नभए पनि एउटा सुखद् सुरुवात भएको छ । छोटो समयमै क्याम्पा मैदानलाई रंगशालाको रुपमा विकास गरिएपछि चाहे र गरे सम्भव छ भन्ने सन्देश प्रवाह भएको छ । यसलाई एउटा उदाहरणको रुपमा लिएर खेल तथा अन्य क्षेत्रका पूर्वाधार निर्माण गर्ने हो भने आयोजनामा भइरहेका ढिलासुस्ती अन्त्य हुने आशा गर्न सकिन्छ ।
