हेटौंडाः सोमबार मकवानपुर जिल्लामा एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा १३ जनामा गरिएको पीसीआर परीक्षणमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै ३ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा कोही पनि संक्रमित पहिचान नभएको बताइएको छ । मकवानपुर जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या २८ जना छ । उनीहरु घरमै आइसोलेसनमा रहेको पनि स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यसैबीच सोमबार हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा कोरोना परीक्षणका लागि १३ जनाको स्वाब संकलन गरिएको छ । ४ जना महिला र ९ जना पुरुषको स्वाब संकलन गरिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।