कर्राखोला कोरिडोरमा सरसफाई गरिँदै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाअन्तर्गत विपद् प्रतिकार्य, फोहर व्यवस्थापन तथा वातावरण शाखाको आयोजनामा शनिबार बिहान हेटौंडाको कर्राखोला कोरिडोरमा सरसफाई गरिएको छ । खोला आसपासका क्षेत्रमा प्लास्टिकजन्य फोहर सरसफाई गरिएको हो ।

‘सोँच, विचार र व्यवहारमा सुधारः पुनस्र्थापना गरौं हाम्रो जलाधार’ भन्ने नाराका साथ सरसफाई अभियान सुरु गरिएको छ । वडा अध्यक्ष, नगरपालिकाका कर्मचारी, नगर प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय टोल विकास संस्थाका पदाधिकारीको सहभागितामा कर्राखोला कोरिडोरको सरसफाई गरिएको हो । कर्राखोला कोरिडोरलगायत नगरका नदि, खोला आसपासका क्षेत्र नियमित सरसफाईको कार्य अभियानकै रुपमा सञ्चालन गरिने हेटौंडा उपमहानगरपालिकाको सामाजिक महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले बताउनुभएको छ ।