हेटौंडाः ‘नवोदय स्टार अफ स्टार्स’ २०७८ को विजेता स्तुति गुरागाईं बनेकी छिन् । शुक्रबार भएको प्रतियोगितामा नौं जना प्रतिस्पर्धीलाई पछाडि पार्दै स्तुती नवोदय स्टार अफ स्टार्स घोषित भएकी हुन् ।
नवोदय गायन स्टार, नवोदय नृत्य स्टार र नवोदय नाटक स्टारबाट उत्कृष्ट तीन छनौट भएका प्रतिस्पर्धीहरुले नवोदय स्टार अफ स्टार्स प्रतियोगितामा सहभागिता जनाएका हुन् । नवोदय गायन स्टारबाट उत्कृष्ट तीनमा आशुतोष पोखरेल, आयुष खरेल, चिराग डंगोल छनौट भएका थिए । यसैगरी नवोदय नृत्य स्टारबाट उत्कृष्ट तीनमा अपेक्षा बिडारी, दर्शना सापकोटा, अस्मी घिमिरे, समीक्षा उप्रेती छनौट भएका थिए । नृत्य स्टारमा भोटिङ र निर्णायकको आधारमा अपेक्षा बिडारी र समीक्षा उप्रेतीले समान अङ्क हासिल गरेका थिए । यसैगरी नवोदय नाटक स्टारमा स्वर्णिमा अधिकारी, स्तुती गुरागाईं र प्रसिद्धि मिश्र उत्कृष्ट घोषित भएका थिए ।
उत्कृष्ट भएका विद्यार्थीहरुलाई विद्यालयले शिल्ड प्रदान गरेको थियो । विद्यालयको क्रियटिभ आर्टका संयोजक प्रलय चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो नेपालले आयोजना गरेको आधुनिक गायन प्रतियोगिता २०२२ मा प्रथम भई गोल्ड मेडल जित्न सफल सुशीला पाण्डे मानन्धरको प्रमुख आतिथ्य रहेको थियो ।
प्रतियोगितामा तरङ्ग सांस्कृतिक परिषद्का अध्यक्ष उज्ज्वल शर्मा भण्डारी, गायिका सुनिता शर्मा लुईंटेल, गायक तथा सङ्गीतकार पूर्णविक्रम अधिकारी र कलिउड कला केन्द्रका सञ्चालक सुजन श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रममा नवोदय विद्यालयका निर्देशक दीपेश जोशीले प्रतियोगिताले विद्यालयको प्रतिभा प्रस्फुटन हुने भएकाले प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिइने बताउनुभयो । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक दुर्गाप्रसाद भट्टराई, विद्यालयका शैक्षिक संयोजक अव्यक्त खनाललगायतको आतिथ्य रहेको थियो ।