उम्मेदवारी घोषणा गर्नुहुँदै आनन्दराम पराजुली ।

हेटौंडाः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मकवानपुर जिल्ला अधिवेशन आइतबार हुँदैछ । लामो समयदेखि धकेलिँदै आएको अधिवेशन अन्ततः आइतबार हुने निश्चित भएको छ । अधिवेशन निश्चित भएसँगै शुक्रबार हेटौंडामा जिल्ला सभापतिमा आनन्दराम पराजुली र जयराम लामिछानेले उम्मेदवारी घोषणा गरेका छन् ।

आनन्दराम पराजुलीले शुक्रबार दिउँसो एभोकाडो होटेलमा उम्मेदवारी घोषणा गर्नुभयो भने जयराम लामिछानेले शुक्रबार साँझ होटल लिडो इनमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्नुभएको हो । पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्ने क्रममा पराजुली र लामिछाने दुवैपक्षले पार्टीका नेता, कार्यकर्ताको बाक्लो उपस्थिति देखाउन खोजेको थियो भने नेता, कार्यकर्ताको एउटा समूह दुवै उम्मेदवारको घोषणा सभामा सहभागी थिए ।

उम्मेदवारी घोषणा गर्नुहुँदै जयराम लामिछाने ।

नेपाली कांग्रेस मकवानपुर जिल्ला समितिको सभापतिको उम्मेदवारी घोषणा गर्नुहुँदै आनन्दराम पराजुलीले आफूले जिते मकवानपुरमा कांग्रेसलाई पहिलो पार्टी बनाउने घोषणा गर्नुभयो । संघीय प्रतिनिधि र प्रदेश प्रतिनिधिका साथै जिल्लाका १० वटै स्थानीय तहमा कांग्रेसको नेतृत्व स्थापित गर्ने पराजुलीले घोषणा गर्नुभयो । मकवानपुरलाई लालकिल्ला भन्ने गरिए पनि अबको चुनावमा कांग्रेसको जिल्ला बनाउने नेता पराजुलीको उद्घोष थियो ।

एक कार्यकाल जिल्ला सचिव, एक कार्यकाल नगर सभापति हुँदै जिल्ला सभापतिको उम्मेदवार बन्नुभएका पराजुलीले भन्नुभयो, ‘एक पद एक कार्यकालको अवधारणाअनुसार अहिले जिल्ला सभापति जिते अर्को अधिवेशनमा जिल्ला सभापतिमा उम्मेदवारी दिन्न । नयाँ साथीलाई अवसर दिन्छु ।’ नेता पराजुलीले कांग्रेसलाई जनताले विश्वास गरेको र जनताको विश्वासमा कुठाराघात नहुने गरी आफूको पार्टी नेतृत्व गर्ने पनि बताउनुभयो ।

यता जिल्ला सभापतिका अर्का उम्मेदवार जयराम लामिछानेले २०१५ सालमा मकवानपुरमा कांग्रेसले जितेको स्मरण गर्नुहुँदै अहिले पार्टीको अधिवेशनलगत्तै स्थानीय तहको निर्वाचनमा होमिने बताउनुभयो । पार्टीलाई बलियो बनाउन वडा तहमा बलियो उपस्थिति जरुरी रहेको उल्लेख गर्नुहुँदै नेता लामिछानेले आफूले पार्टी नेतृत्वको अवसर पाए जिल्लाका १ सय २ वटा वडा मध्ये दुईतिहाई भन्दा बढी वडाअध्यक्ष जित्ने आधार तयार पार्ने बताउनुभयो । पार्टीमा आफूले अग्रजको सम्मान र नयाँ पुस्तालाई माया गर्ने लामिछानेको भनाइ छ ।

लामिछानेको नेतृत्वमा उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने, सचिवमा भीमसेन महत र ईश्वर पाठक, सहसचिवमा रत्न गोले र इन्दिरा न्यौपाने उम्मेदवार हुने जानकारी पत्रकार सम्मेलनमा गराइएको छ । कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा, विष्णुप्रसाद लामिछाने र प्रभात दाहालले पनि उम्मेदवारी दर्ता गर्ने बुझिएको छ ।

यसैबीच निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले आइतबार बिहान ७ बजे अन्तिम नामावली प्रशासन गर्ने जनाएको छ । आइतबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले दरखास्त दिन पाउनेछन् । सोमबार बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म मतदानका कार्यक्रम सार्वजनिक गरिएको छ ।