हेटौंडाः मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकाको ६ नम्बर वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको छ । आर्थिक वर्ष २०७७/७८ मा वडामा सुत्केरी भएका १ सय ६ गर्भवती सवैजना स्वास्थ्य संस्थामा सुत्केरी भएको र चालु आर्थिक वर्ष २०७८/७९ मा पनि ६५ जना गर्भवती स्वास्थ्य संस्थामै सुत्केरी भएसँगै पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बिहीबार हेटौंडा–६, चौघडास्थित हेटौंडा स्वास्थ्य चौकीमा आयोजित एक समारोहमा ६ नम्बर वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्नुभयो । घोषणालगत्तै मेयर महतले उपमहानगरका अन्य वडालाई पनि पूर्ण संस्थागत सुत्केरी वडा घोषणाका लागि अग्रसर हुन निर्देशन दिनुभएको छ । संघीय सरकारले पूर्ण संस्थागत सुत्केरी घोषणासम्बन्धी मापदण्ड बनाएको छ । मापदण्डअनुसार गर्भवतीले आइरन चक्की खाए–नखाएको, पोषण परामर्श लिए–नलिएको, नियमित गर्भवती जाँच गरे–नगरेको, स्वास्थ्य संस्थामै सुत्केरी सेवा लिनुका साथै सुत्केरीपछिको जाँच गरे–नगरेको आधारमा पूर्ण संस्थागत सुत्केरी क्षेत्र घोषणा गर्न सकिने उल्लेख छ ।

पूर्णखोप घोषणा गरेर पूर्णखोपलाई निरन्तरता दिइरहेको ६ नम्बर वडाले २०७६ साल असोज महिनादेखि पूर्ण संस्थागत सुत्केरी वडा घोषणाको तयारी सुरु गरेको स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेव अधिकृत टीएन ढुंगेलले जानकारी दिनुभयो । समुदायका संघ, संस्था, अगुवाको सहभागितामा अनौपचारिक छलफल गरेर सुरु भएको पूर्ण संस्थागत सुत्केरी घोषणा अभियानमा सचेतनाका लागि स्वयम्सेविकालाई अभिमुखीकरण गरी परिचानल गरिएको स्वास्थ्य चौकी प्रमुख ढुंगेलले बताउनुभयो । संघीय सरकारको निर्देशिकाअनुसार कार्ययोजना बनाएर क्रमशः कार्य सुरु गरेको वडाले ९ बुँदे निरन्तरताको योजना बनाएको छ ।

संस्थागत प्रसुती सेवा लिन प्रेरित गर्न नियमित गर्भपरीक्षण तथा प्रसुती सेवा लिँदा सरकारले नगद प्रोत्साहन प्रदान गर्दै आएको छ । चौथो, छैठौं, आठौं र नर्वौ महिनामा गर्भपरीक्षण गराउँदा सुत्केरी भएपछि यातायात खर्चवापत एकमुष्ठ ८ सय रुपैयाँ तथा स्वास्थ्य संस्थामै प्रसुती सेवा लिँदा यातायात खर्च वापत २ हजार रुपैयाँ नगद प्रोत्साहन दिने गरिएको छ । यस्तै सरकारी स्वास्थ्य संस्थामा प्रसुती सेवा लिने क्रममा शल्यक्रिया गर्नुपर्दा समेत कुनै शूल्क नलाग्ने व्यवस्था छ । यस्तै हेटौंडा उपमहानगरक्षेत्रमा सुत्केरी भएको ७ दिनभित्र पोषण कोसेलीसहित उत्तर प्रसुती सेवाअन्तर्गत सुत्केरी र नवजात शिशुको स्वास्थ्य जाँच गरिन्छ ।

पूर्ण संस्थागत सुत्केरी वडा घोषणामा योगदान पुर्‍याउने स्वास्थ्य चौकी इन्चार्ज, कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेविका ४ जना, स्वास्थ्यचौकी जाने बाटोका लागि जग्गादाता परिवार, सञ्चारकर्मीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा भएको घोषणा समारोहमा छिमेकी ७ नम्बर वडा अध्यक्ष राजन थापा, हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य कल्पना बिक, वडा सदस्य राजकुमार बास्तोला, राजनीतिक दलका प्रतिनिधि, छिमेकी वडाका स्वास्थ्य संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

स्वास्थ्य चौकीमा सिनियर अहेव अधिकृत टिएन टुंगेलको नेतृत्वमा सिनियर अहेव एकजना, सिनियर अनमी निरीक्षक एकजना, अनमी एकजना, एकजना कार्यालय सहयोगी कार्यरत छन् । स्वास्थ्य चौकीमा प्राथमिक उपचार सेवा, गर्भवती जाँच सेवा, नसर्ने रोगको परामर्श, औषधी वितरण, महिला स्वास्थ्य, छाला स्वास्थ्यसम्बन्धी, क्षयरोग नियन्त्रण, महामारी, भैपरी आउने स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । यसका साथै नियमित खोप, पोषण सेवा प्रदान गर्दै आएको स्वास्थ्य चौकीमा महिनामा ३ सयदेखि ४ सय सेवाग्राहीले सेवा लिने गरेका छन् ।