हेटौंडाः स्वतन्त्रता अभियानको सक्रिय परियोजनाको आयोजना, विश्व शिक्षाको सहयोग र राष्टिय बाल संरक्षण सञ्जालको सहकार्यमा बागमती प्रदेशको हेटौंडामा बालश्रम निवारणसम्बन्धी प्रदेशस्तरीय छलफल कार्यक्रम सम्पन्न भएको छ ।

अभियानको सदस्य एवम् घरेलु श्रमिक मञ्चका सचिव गोमा भण्डारीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्यानलिष्टको रुपमा बागमती प्रदेश समाजिक विकास मन्त्रालयका उपसचिव सामाजिक विकास महाशाखा प्रमुख गोपाल कँडेल, प्रदेश नीति तथा योजना आयोगका उपसचिव हरिहर पोखरेल, श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख छन्दनारायण श्रेष्ठ, उद्योग बाणिज्य संघ बागमती प्रदेश सदस्य जीवनकाजी मकाजु हुनुहन्थ्यो । कार्यक्रममा मोडरेशन राष्ट्रिय बाल संरक्षण सञ्जालका अध्यक्ष प्रकाश खतिवडाले गर्नुभएको थियो ।

सक्रिय परियोजना सञ्चालन गरिरहेका संस्थाहरु जीएमएसएस, सीडीडएस, मांक, युईएमएस र प्रयास नेपालको संयुक्त प्रस्तुतिको रुपमा जीएमएसएसको अनुगमन तथा मूल्यांकन अधिकृत सोमबाहादुर स्याङ्गतानले बागमती प्रदेशमा बालश्रमको अबस्थाको बारेमा प्रस्तुतिकरण गर्दै स्पष्ट पार्नु भएको थियो ।

उहाँले बागमती प्रदेशमा ६ हजार जना भन्दा धेरै बालबालिका निकृष्ट बालश्रममा रहेको पाइएको छ । स्वतन्त्रता अभियान नेपालको तथ्यांकअनुसार देशभरमा दुई लाख बालबालिका निकृष्ट बालश्रममा रहेका छन् भने बागमतीमा त्यसको ३ दशमलब १ प्रतिशत अर्थात् छ हजार दुई सय जना बालबालिका निकृष्ट बालश्रममा रहेका छन् भनी स्पष्ट पार्नु भएको थियो ।

तथ्यांकअनुसार देशभर ११ लाख बालबालिका बालश्रममा रहेका छन् । स्वतन्त्रता अभियान नेपाललले बागमतीको विभिन्न स्थानका सम्बन्धित निकायसँग समन्वय गरेर तथ्यांक संकलन गरेको संस्थाका प्रतिनिधि सोमबहादुर स्याङ्तानले बताए । अध्ययनले बालश्रममा लाग्नुको मुख्य कारण गरिबी देखाएको उनले बताए । बालबालिकाहरु श्रममा लाग्नुपर्ने मुख्य कारण अभिवाभक नै रहेको उहाँले बताउनुभयो ।

तथ्यांकअनुसार बालश्रम गर्नेमध्ये १० वर्षमुनिका १३ दशमलब १ प्रतिशत, १० देखि १३ वर्ष उमेर समूहका १९ प्रतिशत र १४ देखि १९ वर्ष समूहका ६७ दशमलब २ प्रतिशत रहेका छन् । बालश्रममा रहेकामध्ये बागमती प्रदेशका एक हजार ५ सय ३५ जना बालश्रमिकहरुमा गरिएको अध्ययनले काम छोड्न चाहना राख्नेहरु कमै मात्रामा पाइएको देखाएको छ । निकृष्ट बालश्रमिकमध्ये तीन प्रतिशत बालबालिकाहरु २० घण्टासम्म काममा जोतिनु परेको अवस्था रहेको छ ।

तथ्यांकअनुसार कतिपय बालबालिकाहरुले दिनमा १६ देखि २० घण्टासम्म श्रम गरिरहेको पाइएको छ । राष्ट्रिय बाल संरक्षण सञ्जालको सहकार्यमा सम्पन्न भएको उक्त कार्यक्रममा बालश्रमको क्षेत्रमा कार्यरत संस्था र सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सहभागीहरुले बनेका नीतिको कार्यान्वयनमा कमजोरी देखिएका कारण बालश्रमको अन्त्य हुन नसकेको बताएका छन् ।

बागमती प्रदेश समाजिक विकास मन्त्रालयका उपसचिव गोपाल कँडेलले प्रदेश सरकारले बालश्रम अन्त्यका लागि ऐन बनाएरै कार्य गरिरहेको जानकारी दिनुभयो । बागमती प्रदेशका स्थानीय तहहरुले बालश्रम अन्त्यका लागि कार्य गर्न आग्रह गर्दै यसका लागि स्थानीय सरकारसँग सहकार्य गरिने उहाँले बताउनुभयो । प्रदेश नीति तथा योजना आयोगका उपसचिव हरिहर पोखरेलले बालबालिकाहरुको अधिकार सुनिश्चितताका लागि सरकारी तथा गैरसरकारी संस्थाहरु मिलेर जानुपर्ने र बनाएका नीतिहरुको पालनामा ध्यान दिनुपर्ने बताउनुभयो ।

श्रम कार्यालय मकवानपुरका प्रमुख छन्दनारायण श्रेष्ठले बालश्रमिकहरुको संख्या धेरै भएपनि बालश्रमको विरुद्धमा एउटा पनि मुद्धा नपरेको बताउनुभयो । उहाँले बाल श्रमिक राख्ने रोजगारदातालाई कारवाही गर्न सहयोगका लागि सरोकारवालाहरुलाई आग्रहसमेत गर्नुभएको थियो । उद्योग बाणिज्य संघ बागमती प्रदेश सदस्य जीवनकाजी मकाजुले उद्योग वाणिज्य सघले बालश्रम अन्त्यमा धेरै पहिलेदेखि नै कार्य गरिरहेको स्मरण गर्दै औपचारिक क्षेत्रमा बालश्रम नरहेको बताउनु भयो । अनौपचारिक क्षेत्रमा बालश्रमको अन्त्य गर्न सरकारसँग सहकार्य गरी बालश्रम अन्त्यका लागि कार्य गर्ने प्रतिबद्धतासमेत प्रकट गर्नु भएको थियो ।

कार्यक्रममा सहजीकरण गर्नुहुने राष्ट्रिय बाल संरक्षण सञ्जालको केन्द्रीय अध्यक्ष प्रकाश खतिवडाले बालश्रम विश्वभरि नै बाल अधिकारको संरक्षण र सम्बद्र्धनको अभियानको बाधकको रुपमा रहेको, बाल मैत्री घोषणाको लागि बाधकको रुपमा रहेको, नेपाल सरकारले सन् २०२५ सम्ममा सबै प्रकारका बालश्रम अन्त्य गर्ने प्रतिबद्धता र बालश्रम निबारण सम्बन्धी राष्ट्रिय गुरुयोजना तयार हुनुले बालश्रम अन्त्य अपरिहार्य रहेको बताउनु भयो ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाको उपाध्यक्ष हर्कमाया स्याङ्तान, सञ्जालका अध्यक्ष आरती पाठक, ईन्सेकका गणेश भण्डारी, राडो नेपालका दीपेन्द्र पाठक, समृद्ध समाजका सम्पादक सुरेश श्रेष्ठ, नारी संरक्षण केन्द्रका राम मिजार, ट्रेड युनियन बागमती प्रदेशका घनश्याम चापागाई, हेटौडा उपमहानगर पालिकको सामाजिक विकास शाखा प्रमुख जगन्नाथ सापकोटा, मनहरी गाउँपालिकाको शान्ति अधिकारी, एस्थर बेन्जामिनका बुद्ध लामा र डेक नेपालका मानबहादुर बाईबालगायतले मन्तब्य ब्यक्त गर्नुभयो । स्वतन्त्रला अभियानका मनु नेपाली र सामना बरालले कार्यक्रममा स्वागत र कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।