कक्षा सुरुहुनुअघि ध्यान गर्दै विद्यार्थीहरु ।

हेटौंडाः हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी बोर्डिङ स्कूलमा कक्षामा पठनपाठन सुरु हुनुअघि विद्यार्थीलाई करिब मिनेटको ध्यान गर्ने गरेका छन् । पठनपाठनमा विद्यार्थीलाई एकाग्र गराउन ध्यान गराउने गरेको विद्यालयले जनाएको छ ।

हरेक कक्षा सुरुहुनु अघि विद्यार्थीहरुले ध्यान गर्दा पढाईमा एकाग्रता भई सिकाई उपलब्धी राम्रो हुने अपेक्षा गरिएको विद्यालयका प्रिन्सीपल विनोद सुवेदीले जानकारी दिनुभएको छ । विद्यार्थीसँगै शिक्षक, कर्मचारीले पनि एकसाथ ध्यान गर्छन् । कक्षाकोठामा पुगेका शिक्षक, विद्यार्थी यथास्थानमा उभिएर आँखा चिम्लिएर ध्यान गर्छन् । ध्यान गर्नका लागि उपयुक्त धुनहरु पनि बजाइन्छ ।

विद्यालयले कम्प्युटर सफ्टवेयरमार्फत घन्टी बज्ने व्यवस्था गरेको छ भने हरेक घन्टीपछि कम्प्युटर सफ्टवेयरमार्फत नै कक्षाकोठामा धुन बज्ने व्यवस्था मिलाइएको छ । पुस महिनादेखि सुरु गरिएको हो । शौचालय या धाराबाट फर्कने क्रममा कक्षाकोठामा पुग्न नभ्याएका विद्यार्थी बाटोमै उभिएर ध्यान गर्ने गरेका छन् । ध्यान गराउन सुरु गरेपछि विद्यार्थीले पढाइएको विषयमा लिने तनाव काम हुनुका साथै स्मरण शक्ति बढाएको सहायक प्रिन्सीपल अमुल श्रेष्ठको भनाइ छ ।

विद्यालयले कम्प्युटर सफ्टवेयरमार्फत घन्टी बजाउने र ध्यानका लागि धुन बजाउन सफ्टवेयर जडान गर्न ३ लाख रुपैयाँ खर्च भएको जनाएको छ । बालिविकासदेखि १० कक्षासम्म पठनपाठन हुने विद्यालयमा १ हजार २ सय ५० विद्यार्थी अध्ययनरत छन् ।