हेटौंडाः हेटौडा–१९ सान्नानटार स्थित पुर्व–पश्चिम सडक खण्डमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१९ कुवा पानीका १७ वर्षीय सुदिप तितुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।

आज मंगलबार दिउँसो १२ बजेर १५ मिनेटको समयमा बस्तिपुरबाट नेवारपानी तर्फ आउदै गरेको र ना ५ त ७३३८ नम्बरको खाली ट्याक्टरको ढालामा सोही दिशा तर्फ आउदै गरेको बागमती प्रदेश ०३–००५ प १५०३ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा तितुङ गम्भीर घाइते भएको थियो । तितुङलाई उपचारको लागि चुरेहिल अस्पताल ल्याइएकोमा डाक्टरले १२ बजेर ४८ मिनेटमा मृत्यु घोषणा गरेको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटेर ट्याक्टर र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।