मानिस जन्मेदेखि नमरुञ्जेलसम्म सम्मानितरुपमा अरुसरह बाँच्नका लागि चाहिने सम्पूर्ण आधारभूत आवश्यकताहरुलाई मानव अधिकार भनिन्छ । हामी सबैको आधारभूत अधिकारको रुपमा रहेको मानव अधिकार उल्लंघनका घटना नेपालमा पनि उल्लेख्य पाइन्छ । नेपालको संविधानले मानव अधिकारका सबै पक्षलाई समेट्ने गरी ३१ वटा मौलिक हकको व्यवस्था गरेको छ । संयुक्त राष्ट्रसंघको महासभाबाट सन् १९४८ को डिसेम्बर १० मा पारित मानव अधिकार विश्वव्यापी घोषणापत्रलाई पनि नेपालले अनुमोदन गरेको छ । तर पनि अधिकांश नेपालीहरु मानव अधिकार प्राप्त गर्नबाट वञ्चित हुनुपरेको छ । घोषणापत्रको तीसवटा र संविधानको ३१ वटा धारामा उल्लेख भएका मानव अधिकार हरेक नेपालीले प्राप्त गर्नुपर्नेमा त्यसो हुन सकेको छैन ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को सार्वजनिक गरेको छ । तीन दशकदेखि निरन्तर प्रकाशन हुँदै आएको मानव अधिकार वर्ष पुस्तकले नेपाली समाजमा रहेका मानव अधिकारको अवस्थालाई चित्रण गर्दछ । राज्यका तीनवटै अंगले मानव अधिकारको संरक्षण र सम्बद्र्धनका सवालमा गरेका प्रतिवद्धता र उपलब्धीलाई यसले समेट्ने गरेको छ । मानव अधिकार वर्ष पुस्तक एउटा सामान्य पुस्तकमात्र नभई देशको मानव अधिकार प्राप्ति र उल्लंघनको अवस्थाबारे यथार्थ अवस्था चित्रण गर्ने महत्वपूर्ण दस्तावेज बन्ने गरेको छ ।
इन्सेकले ७७ वटै जिल्लामा प्रतिनिधि राखेर वर्षभर संकलन गरेको मानवअधिकार उल्लंघनका घटना समावेश गरी वर्षपुस्तक सार्वजनिक गर्दै आएको छ । इन्सेक वर्ष पुस्तकमा सन् २०२१ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीका ६ हजार २ सय ८५ वटा घटना भएको उल्लेख छ । यी घटना अघिल्लो वर्ष अर्थात् सन् २०२० को तुलना ७ सय ४२ ले बढी हो । इन्सेकले सन् २०२१ मा राज्यपक्षबाट ६ जनाको हत्या भएको, जातीय विभेदका घटनामा २८ जना, अमानवीय व्यवहारका घटनामा २४ जना पीडित भएको उल्लेख गरेको छ । यस्तै सन् २०२१ मा महिलामाथि हुने हिंसाका घटना ३ हजार ४ सय १७ वटा भएको उल्लेख गरिएको छ । देशको संविधान, कानुन तथा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय घोषणापत्र सबैको उद्देश्य मानिसले मानिस भएर बाँच्न पाउनुपर्छ भन्ने नै हो । तर, मानिसले मानिस भएर बाँच्न पाउनुपर्ने सामान्य अधिकारहरु पनि हनन् हुनु दुःखद् बन्ने गरेको छ ।
हरेक मानिसको जीवनको सुरुवात र अन्त्य समान तरिकाले हुने भएकाले विभेदपूर्ण तरिकाले बाँच्नुपर्ने बाध्यता सृजना हुनु हुँदैन । जाति, भाषा, लिंग, धर्म, वर्ग, वर्ण, क्षेत्र आदिका आधारमा हरेक मानिसको सामाजिक हैसियत र जीवनस्तर फरक हुनु नै मानव अधिकार हनन्का कारण हुन् । नेपालको सन्दर्भमा मानव अधिकारको संरक्षणलाई राजनीतिक र सामाजिक आन्दोलनको विकाससँगै जोडेर हेर्ने गरिन्छ । नागरिक अधिकार, राजनीतिक अधिकार, सामाजिक अधिकार, आर्थिक अधिकार र सांस्कृतिक अधिकार गरी पाँच अधिकार नागरिकले प्राप्त गर्न सकेको खण्डमा आधारभूत मानव अधिकार पाएको मान्न सकिन्छ । तर, नेपालमा धेरै हदसम्म राजनीतिक अधिकार र केही हदसम्म सामाजिक अधिकार पाइएको भए पनि अन्य अधिकारको हिसाबले नेपाली निकै पछि परेकाले मानव अधिकार उल्लंघनका घटना बढ्दै गएको देखिन्छ ।