हेटौंडाः यस वर्षको एसईई परीक्षाको तालिका परीक्षा नियन्त्रण कार्यालयले २०७९ साल वैशाख ९ गतेदेखि तोकेको छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको परीक्षाको तालिका विद्यार्थी हित विरुद्व रहेको आधुनिक राष्ट्रिय माविका शिक्षक दीपक अधिकारीले बताउनुभएको छ ।

कोभिड–१९ महामारीका कारण चालु शैक्षिक सत्रमा अहिलेसम्म मुस्किलले तीन महिनामात्र पढाइ भएको अधिकारीले बताउनुभयो । तीन महिनाको अन्तरालमा कति पाठ्यांश पढाइ भयो होला भन्ने विषयको यकिन हुनुपर्ने उहाँको भनाइ छ । पढाइएका मध्ये पनि विद्यार्थीले कति विषयवस्तु सिक्न सके भन्ने प्रश्न अझ जटिल रहेको उहाँले उल्लेख गर्नुभयो । पढाइ र सिकाइ पूर्ण नभएको अहिलेको अवस्थामा एसईईको परीक्षा तालिका विद्यार्थी हितविरुद्ध रहेको भन्दै अधिकारीले समाजिक सञ्जालमा समेत उल्लेख गर्नुभएको छ ।

परीक्षा लिने भन्दैमा पाठ्यवस्तु नै नसकी परीक्षा लिँदा विद्यार्थीको शैक्षिक गुणस्तर खस्किने कुरामा गम्भीर हुनुपर्ने शिक्षक अधिकारीले जानकारी दिनुभयो । ‘गतवर्ष झैं यसवर्ष पनि कोभिड संक्रमणका कारण भौतिकरुपमा पठनपाठन थोरै समयमात्र भएको अवस्था छ’, अधिकारीले भन्नुभयो– ‘देशका सबै विद्यालयमा अध्ययन गर्ने बालबालिकामा इन्टरनेटको पहुँच नभएको अवस्थामा पाठ्यक्रममा तोकिएका विषयवस्तुहरु विद्यालयले पठनपाठन गर्न सकेका छैनन् ।’ यद्यपि कतिपय विद्यालयले भने अनलाइन कक्षा प्रभावकारी ढंगले सञ्चालन गरेको अवस्था रहे पनि वास्तवमा अनलाइनमा जोडिने विद्यार्थी सात प्रतिशत पनि नभएको यथार्थ रहेको उहाँले बताउनुभयो ।

केही विद्यालयमा अनलाइन कक्षामा ८० प्रतिशतमात्र विद्यार्थी सहभागी भएपनि समग्रमा ५० प्रतिशतभन्दा बढी विद्यार्थीहरु अनलाइन कक्षामा नजोडिएको दावी गर्नुभयो । त्यसैले ती बालबालिकाहरुले शिक्षकहरुबाट सहजीकरण गरिएका पाठहरुलाई ग्रहण गर्न नसकेको उहाँले जानकारी दिनुभयो । प्रायः विद्यालयमा शैक्षिक गतिविधि भौतिकरुपमा मात्र निर्भर हुनुपर्ने अवस्था रहेकाले फागुन १ गतदेखि भौतिक कक्षा पुनः सुचारु भएको तथा शैक्षिक सत्रको दोस्रो पटक विद्यालय सञ्चालन भएको उहाँको भनाइ छ । अब दुई महिनामात्र भौतिक कक्षा सञ्चालन हुने र त्यसबीचमा आन्तरिक परीक्षासमेत सञ्चालन गर्नुपर्ने भएकाले पठनपाठनको समय कम रहेको अधिकारीले जानकारी दिनुभयो ।

वैशाखमा हुने परीक्षा विद्यालयले गर्ने आन्तरिक मूल्यांकनको आधारमा हुनुपर्ने उहाँको भनाइ छ । जसले विद्यार्थीको नियमितता, कक्षाकार्य, गृहकार्य, व्यवहार, सिकाइमा सहभागिता, अनुशासन, सिकाइको व्यवहारिक प्रयोगको अवस्था, परियोजना कार्यको अवस्था, आन्तरिक तथा लिखित परीक्षा समेटिनुपर्ने उहाँले बताउनुभयो । यसैगरी परीक्षा बोर्डले गर्ने बाह्य मूल्यांकनमा हरेक विषयको प्रश्न निर्माण गर्दा धेरैभन्दा धेरै प्रश्न हुनुपर्ने र प्रश्न रोज्न सकिने सुविधा विद्यार्थीलाई दिनुपर्ने उहाँले बताउनुभयो । सुरुका पाठहरुबाट अलि बढी प्रश्न रोधिएमा मात्र विद्यार्थीलाई अन्याय नहुने उहाँको भनाइ छ ।

हेटौंडा—४ स्थित भूटनदेवी मावि कक्षा १० मा अध्ययनरत एसईईको तयारीमा रहनुभएकी रुपा मगरले भौतिक उपस्थितिमा विद्यालय खुला भएपछि परीक्षाको तयारी तिव्र भइरहेको बताउनुभयो । परीक्षाको तालिका तोकिएको अवस्थामा अहिले भौतिक उपस्थितिमै विद्यालय सञ्चालन भएपनि परीक्षााको तयारीमा कतिपय विद्यार्थीले बेवास्ता गरेको तथा चासो नदिएको उहाँले बताउनुभयो । विद्यालय खुलेपछि शिक्षकहरुले मुख्यमुख्य विषयवस्तुलाई मात्र कभर गरेर पढाइलाई अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।

विद्यार्थीको शैक्षिक गुणस्तरलाई मध्यनजर गरी अनलाइन कक्षा सञ्चालन गरिएपनि आधाभन्दा कममात्र विद्यार्थी उपस्थित हुने गरेको उहाँले बताउनुभयो । ६५ जनामा १८ जना विद्यार्थीमात्र अनलाइनमा जोडिने गरेको मगरको भनाइ छ । शहरबजारमा अनलाइन पहुँच भएका विद्यार्थी पनि कक्षामा उपस्थित नहुने गरेको उहाँले उल्लेख गर्नुभयो । कोभिड–१९ संक्रमण जोखिमका कारण विद्यालय बन्द हुँदा कतिपय साथीहरुले विवाहसमेत गरेकाले शिक्षाको महत्वलाई बुझेर सिकाइमा चासो राख्न उहाँले अनुरोध गर्नुभयो ।