हेटौंडाः ७२ औं प्रजातन्त्र दिवसको अवसरमा मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारमा सजाय काटिरहेका १० जना कैदीलाई कैदमाफी दिइएको छ । शनिबार प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले असल आचरणका कैदीहरुलाई माफीको घोषणा गर्नुभएको हो ।
असल आचरण प्रस्तुत गर्ने सकारात्मक सूचीमा रहेका कैदीलाई गणतन्त्र दिवस तथा प्रजातन्त्र दिवसको अवसरमा प्रत्येक वर्ष कैदमाफी दिँदै आएको छ । माघ १७ गते नै कारागार कार्यालयले असल आचरण प्रस्तुत गर्ने ३० जनाको नाम सिफारिस गरेको थियो । जसमा ८ जना नेपाली र २ भारतीय नागरिक गरी १० जना कैदीलाई कैद माफी दिने निर्णय गरिएको भीमफेदी कारागारका सुचना अधिकारी केदारप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
कैद माफी पाउनेमा हेटौंडा–१७ का दीपक दाहाल, हेटौंडा–१८ का रोशन दुलाल, हेटौंडा–१९ का राजकुमार भनिने सनुभाई नेपाली, हेटौंडा–५ का बुद्धि बहादुर परियार, सिन्धुलीका साविक पीपलमाडी गाविस–७ का टेक बहादुर भोलन, सुनसरी जिल्लाको इटहरी–४ का खेमराज बस्नेत, बारा जिल्लाको चुरिमाई–३ का सुनिल गुरुङ, भारत उत्तरप्रदेशको दुश्यन्त कुमार, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१३ का प्रथम कुमार चौधरी र भारत विहारका अशोक चौधरी रहेको सुचना अधिकारी सापकोटाले जानकारी दिनुभएको छ ।
भीमफेदी कारागारमा शनिबारसम्ममा ९ सय ७० कैदीबन्दीले सजाय काटिरहेका छन् । कारागारमा सजाय काटिरहेका सबै जना पुरुष रहेका छन् । कारागारमा अहिले सवैभन्दा बढी लागुऔषध मुद्दाका र जबर्जस्ती करणीसम्बन्धी मुद्दाका कैदीबन्दी रहेका छन् ।