पुस्तकालय अभियान समूहका सदस्य सुरेश श्रेष्ठलाई पुस्तकालय स्थापनाका लागि सहयोग रकम हस्तान्तरण गर्नुहुँदै क्याम्पस सञ्चालक समितिकी अध्यक्ष मुनु सिग्देल ।

हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसको ३२ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको तीन दिवसीय वार्षिकोत्सव समारोह आइतबार बिहान समापन गरिएको हो । समापन समारोहमा हेटौंडा क्याम्पसले पुस्तकालय अभियान समूह मकवानपुरसँगको सहकार्यमा एउटा सामुदायिक पुस्तकालय स्थापना गर्ने गरी सहयोग रकम हस्तान्तरण गरेको छ ।

पुस्तकालय अभियान समूह मकवानपुरले ५० हजार रुपैयाँ बराबरको पुस्तक हस्तान्तरण गरी समुदायमा पुस्तकालय स्थापना गर्दै आएको छ । क्याम्पस सञ्चालक समितिकी अध्यक्ष मुनु सिग्देलले पुस्तकालय अभियान समूह मकवानपुरका सदस्य सुरेश श्रेष्ठलाई पुस्तकालय स्थापनाका लागि रकम हस्तान्तरण गर्नुभयो । हेटौंडा क्याम्पसले अब प्राविधिक शिक्षा सञ्चालन गर्ने योजना बनाएको जानकारी दिनुहुँदै उहाँले पुस्तकालय अभियान समूहका लागि बद्रिप्रसाद खतिवडाले लेख्नुभएको अभियन्ता पुस्तक पनि १० थान सहयोग गर्नुभएको छ ।

अतिरिक्त क्रियाकलापमा सहभागी विद्यार्थीलाई पुरस्कृत गर्नुहुँदै क्याम्पस सञ्चालक समितिकी अध्यक्ष मुनु सिग्देल ।

सहयोग रकम हस्तान्तरणपछि समापन समारोहलाई सम्बोधन गर्नुहुँदै क्याम्पस सञ्चालक समितिकी अध्यक्ष मुनु सिग्देलले निम्न तथा मध्यम वर्गीय परिवारका विद्यार्थीले गुणस्तरीय उच्च शिक्षा हासिल गर्ने शैक्षिक संस्थाको रुपमा स्थापित हेटौंडा क्याम्पसले वार्षिकोत्सवको अवसरमा पठन संस्कृतिको विकास गर्न पुस्तकालय स्थापनाको अभियानमा सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा पुस्तकालय अभियान समूहका सदस्य सुरेश श्रेष्ठले पठन संस्कृतिको विकासका लागि पुस्तकालय स्थापनाको अभियान चलाइएको र उक्त अभियानमा विश्वविद्यालय तहमा अध्ययरत विद्यार्थीको पनि सहयोग जरुरी रहेको बताउनुभयो । हेटौंडा क्याम्पसको सहयोगमा छिट्टै नै जिल्लाभित्र समुदायको अग्रसरतामा पुस्तकालय स्थापना गरिने श्रेष्ठको भनाई थियो । पुस्तकालय अभियान समूहले मकवानपुर जिल्लामा ११ वटा तथा बारा र रौतहट जिल्लामा एक/एक गरी कुल १३ वटा पुस्तकालय स्थापना गरिसकेको छ ।

वार्षिकोत्सवको अवसरमा क्याम्पसले आयोजना गरेको अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय तथा तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरेको छ । वार्षिकोत्सवको अवसरमा छात्र तथा छात्राको दौड, डोरी तान्ने प्रतियोगिताको आयोजना गरेको थियो भने क्याम्पसका प्राध्यापक तथा कर्मचारी र मकवानपुरका पत्रकारबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिताको आयोजना गरिएको थियो । अतिरिक्त क्रियाकलाप प्रमुख सहायक प्राध्यापक मनोज पोखरेलको संयोजकत्वमा भएको वार्षिकोत्सव कार्यक्रमको समापनमा क्याम्पसका विद्यार्थीले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए । क्याम्पस प्रमुख डा. देवचन्द्र मानन्धरको अध्यक्षतामा भएको समापन समारोहमा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष आनन्दराम कोइराला, सदस्य प्रदीप कोइराला, बद्रिनाथ शर्माको पनि आतिथ्य रहेको थियो ।