सन्तोष चौलागाई

हेटौंडाः बागमती प्रदेशको प्रदेश युवा परिषद्का प्रथम कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई प्रदेश सरकारले पदमुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले चौलागाईलाई पदमुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण शर्मा खनालले जानकारी दिनुभएको छ ।

विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी कार्य गरेको, स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको, पत्रकार सम्मेलन गरी परिषद्को आन्तरिक गोपनीयता भंग गरेको, परिषद्को स्वीकृति विपरित लोगो तथा नारा सार्वजनिक गरेको, ऐन कानुनको बर्खिलाप स्वेच्छाचारी कार्य गरेको, कार्यसम्पादन सम्झौता नगरेको भन्दै प्रदेश सरकारले पदमुक्त गर्ने निर्णय गरेको मन्त्री खनालले जानकारी दिनुभएको छ ।

तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले सन्तोष चौलागाईलाई २०७८ साल जेठ २७ गते कार्यकारी उपाध्यक्ष नियुक्त गर्नुभएको थियो । तत्कालिन प्रदेश सरकारले परिषद्को कार्यकारी उपाध्यक्ष नियुक्ति प्रतिस्पर्धाका आधारमा गरेको थियो । १६ जनाको आवेदन परेकोमा सामाजिक विकास मन्त्रालयले ६ जनाको अन्तरवार्तापछि मन्त्रीपरिषद्मा तीनजनाको नाम सिफारिस गरेपछि मुख्यमन्त्रीले चौलागाईलाई कार्यकारी उपाध्यक्ष नियुक्त गरिएको थियो ।