हेटौंडाः मकवानपुरगढी गाउँपालिकास्थित श्रीकृष्ण प्रणामी मन्दिर सुन्दरधाममा लत्ताकपडा सहयोग गरिएको छ । प्रणामी व्यवसायी संघ नेपालका अध्यक्ष विष्णुप्रसाद वाग्लेले आफ्नो स्वर्ण जन्मोत्सवको अवसरमा सोमबार मन्दिरलाई सहयोग गर्नुभएको हो ।
मन्दिरमा आगन्तुक भक्तजनका लागि आवासको निम्ति आवश्यक पर्ने लत्ताकपडा वाग्लेले उपलब्ध गराउनुभएको हो । सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएका वाग्लेले मन्दिर सञ्चालक समिति अध्यक्ष बालकृष्ण घिमिरेलाई ब्ल्याङकेट ६ थान, तकिया ६ थान र मन्दिरका पुजारीलाई एकजोर कपडा सहयोग गर्नुभएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा प्रणामी व्यवसायी संघका केन्द्रीय सल्लाहकार अर्जुन प्रसाद वाग्ले, सारथी न्यौपाने, संघका केन्द्रीय सदस्य देवी प्रसाद अधिकारी, धर्मराज ढकाल, संघ मकवानपुरका संयोजक विनोद पुडासैनीलगायतको उपस्थिति थियो । वाग्लेले मन्दिरमा आगामी दिनमा पनि सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।











