Home मुख्य समाचार पुस्तक दिवसमा रचना वाचन र अन्तरक्रिया

पुस्तक दिवसमा रचना वाचन र अन्तरक्रिया

पुस्तक दिवसको अवसरमा पुष्पलाल पुस्तकालयका लागि कविता संग्रह दुलही हस्तान्तरण गर्नुहुँदै ह्यग्रीव आचार्य ।

हेटौंडाः वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा तथा नवौं राष्ट्रिय पुस्तक दिवसको अवसरमा पुष्पलाल स्मृति पुस्तकालयले रचना वाचन तथा पठन संस्कृतिको विषयमा अन्तरक्रियाको आयोजना गरेको छ । आइतबार पुस्तकालय परिसरमै भएको कार्यक्रममा सहभागीले पठन संस्कृतिको विकासमा पुस्तकालय महत्वपूर्ण आधारको रुपमा रहने र पठन संस्कृतिलाई प्रवद्र्धन गर्न साहित्य क्षेत्रका व्यक्ति मात्रै नभई सवै पेशा र क्षेत्रका व्यक्तिहरुको अग्रसरता जरुरी हुने औँल्याइएको छ ।

आफ्नो कृति बुद्धिपुराण नवसर्जक साहित्य चौतारीलाई हस्तान्तरण गर्नुहुँदै राजकुमार लामिछाने ।

पुष्पलाल स्मृति पुस्तकालयको व्यवस्थापन गर्दै आएको साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाकी प्रमुख विष्णुकुमारी लामिछानेको प्रमुख आतिथ्यमा अन्तरक्रिया भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि लामिछानेले पठन संस्कृति तथा पुस्तकालय विकासका लागि स्थानीय सरकारको तर्फबाट सहयोगको प्रतिवद्धता व्यक्त गर्नुभयो । साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेले पुष्पलाल स्मृति पुस्तकालय सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिकाले वार्षिक ४ लाख रुपैयाँ बजेट उपलब्ध गराइरहेको जानकारी दिनुभयो । उहाँले पुस्तकालयमा ७ हजार पुस्तक रहेको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले पठन संस्कृतिको विकास गर्न पुस्तकालयको विस्तार गरिनुपर्ने धारणा राख्नुभयो । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्यले पठन संस्कृतिका लागि पुस्तकालय जरुरी रहेको बताउनुभयो । मकवानपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा समीक्षक घनश्याम घिमिरेले पढ्ने मात्रै नभई चिन्तन् गर्ने र दैनिक जीवनमा अध्ययन गरेर बुझेका विषयलाई आत्मसात गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो । पुस्तकमाथिको बहस कार्यक्रम गर्न सके पठन संस्कृतिको विकास गर्न सकिने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रगतिशील लेखक संघ मकवानपुरकी अध्यक्ष शान्ति प्रियवन्दनाले पठन संस्कृतिले व्यक्तित्व निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले एकजना व्यक्तिले आफ्नो एउटा जीवन बाँचिरहने जनाउनुहुँदै अध्ययनमार्फत अनेकौं जीवन बुझ्न सकिने बताउनुभयो । समृद्ध समाज दैनिकका सम्पादक एवम् पुस्तकालय अभियान समूहका सदस्य सुरेश श्रेष्ठले पठन संस्कृतिलाई विकास गर्न पुस्तकालय अभियान सञ्चालन गरेको बताउनुभयो । पठन संस्कृतिको विकास गर्न समेत असल नागरिक निर्माण गर्न सकिने श्रेष्ठको भनाइ थियो । पठन संस्कृतिको विकासकै लागि पत्रिकाको वार्षिकोत्सवमा सहभागी सवैलाई पुस्तक उपहार दिने गरिएको सम्पादक श्रेष्ठले बताउनुभयो ।

झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमले नवसर्जक साहित्यकारबीच जन्मदिनको अवसरमा उपहार पनि पुस्तक नै दिने अभ्यास गरिएको जानकारी दिनुभयो । कार्यक्रममा नवसर्जक साहित्य चौतारी नेपालकी केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश अध्यक्ष उषाकिरण अधिकारीले विद्यालयको औचापरिक अध्ययनसँगै पाठ्यक्रमभन्दा बाहिरका नेपाली तथा अंग्रेजी पुस्तक पढ्दै गर्दा एक सय वर्षअघिको समयसँगै विदेशको भूमिमा पुगेको अनुभूति भएको बताउनुभयो । नवसर्जक साहित्य चौतारी नेपालका महासचिव समर्पण न्यौपानेले पठन संस्कृतिको विकास गर्न घरमा विद्यार्थीले मात्रै नभई अभिभावकले पनि पढ्नुपर्ने बताउनुभयो ।

Exit mobile version