Home मुख्य समाचार हेटौंडा क्याम्पसको १३ औं क्याम्पस सभा, प्राविधिक विषय थप गर्ने योजना प्रस्तुत

हेटौंडा क्याम्पसको १३ औं क्याम्पस सभा, प्राविधिक विषय थप गर्ने योजना प्रस्तुत

क्याम्पस सभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे ।

हेटौंडाः हेटौंडा क्याम्पसको १३ औं क्याम्पस सभा आइतबार भएको छ । क्याम्पस सन्चालक समितिकी अध्यक्ष मुनु सिग्देलको अध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा क्याम्पस सभाको उद्घाटन कार्यक्रम भएको हो । क्याम्पस सभामा अध्यक्ष सिग्देलले शिक्षा क्याम्पसको रुपमा स्थापित हेटौंडा क्याम्पसलाई प्राविधिक क्याम्पसको रुपमा विकास गर्ने योजना प्रस्तुत गर्नुभयो ।

बागमती प्रदेश सभामा सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को प्रमुख सचेतक समेत रहनुभएकी अध्यक्ष सिग्देलले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै स्नातक तहमा इन्जिनियरिङ, कानुन र बीबीए जस्ता प्राविधिक कार्यक्रम थप्दै लैजाने बताउनुभयो । गुणस्तरीय शिक्षाका लागि स्थायी प्राध्यापकको दरबन्दीलाई प्राथमिकता दिने उल्लेख गर्नुभएकी अध्यक्ष सिग्देलले अवकासपछि पनि प्राध्यापक, कर्मचारीलाई अवकासपछि सम्मान गर्ने योजना प्रस्तुत गर्नुभयो । अध्यक्ष सिग्देलले चालु आर्थिक वर्षमा क्याम्पसको आनुमानित आय ६ करोड २ लाख रुपैयाँ रहने जानकारी समेत दिनुभयो ।

क्याम्पस सभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिए देश विकासमा महत्त्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुभयो । कोरोनाको संक्रमणको दर घटेर नियमित पठनपाठन सुचारु भएपछि क्याम्पसले राजनीतिकका नेता र विद्यार्थी बीच हरेक हप्ता अन्तरक्रिया गर्न मुख्यमन्त्री पाण्डेले क्याम्पस प्रशासनलाई अनुरोध गर्नुभयो । क्याम्पस सभामा छात्रवृत्ति उपसमितिका संयोजक प्रदीप कोइरालाले कक्षा ११, १२ र स्नातक तहमा १ सय ६० जना विद्यार्थीलाई ७ लाख १३ हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको जानकारी दिनुभयो ।

कक्षा ११, १२ सहित स्नातक तथा स्नातकोत्तर तहमा शिक्षा, मानविकी र बाणिज्य संकायमा पठनपाठन हुने हेटौंडा क्याम्पसमा १ हजार ७ सय ५० जना विद्यार्थी अध्ययनरत छन् । क्याम्पस सभाको उद्घाटन समारोहमा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version