नवसर्जक साहित्य चौतारी नेपालका पदाधिकारीलाई पुस्तक हस्तान्तरण गरिँदै ।

हेटौंडाः नवौं राष्ट्रिय पुस्तक दिवसको अवसरमा नवसर्जक साहित्य चौतारी नेपालले हेटौंडामा निशूल्क पुस्तक वितरण गरिएको छ । नवसर्जक साहित्य चौतारी नेपालका राष्ट्रिय समितिका पदाधिकारी तथा सदस्य गरी ३४ जनालाई दुईवटा पुस्तक वितरण गरिएको हो ।

प्राध्यापक डा. देवी नेपालले लेख्नुभएको ‘लेखन शिल्प’ र सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले लेख्नुभएको ‘शोकगीतको पोष्टमार्टम’ वितरण गरिएको हो । ‘लेखन शिल्प’ शीर्षकको किताब हेटौंडा–२ स्थित बालजागृति इंग्लिस बोर्डिङ स्कूलले प्रायोजन गरेको हो भने शोकगीतको पोष्टमार्टम लेखक निमेष निखिलले नै निशूल्क वितरण गर्नुभएको हो ।

पुस्तक वितरण कार्यक्रममा सहभागीले पुस्तक अध्ययनको आवश्यक र अनुभवका बारेमा पनि बताएका थिए । नवसर्जक साहित्य चौतारीकी राष्ट्रिय उपाध्यक्ष तथा बागमती प्रदेश समितिकी संयोजक उषाकिरण अधिकारीको अध्यक्षता तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यमा पुस्तक वितरण कार्यक्रम भएको हो ।

नवसर्जक साहित्य चौतारी नेपालका पदाधिकारीलाई पुस्तक हस्तान्तरणपछि सामूहिक तस्वीर खिचाउँदै ।

कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले नवसर्जक साहित्य चौतारीले विद्यालय तहका विद्यार्थीलाई साहित्य सिर्जना र अध्ययनको अभ्यासमा अग्रसर गराउन प्रेरित गरिरहेको कार्य प्रशंसनीय भएको बताउनुभयो । कोभिड–१९ को संक्रमण तीव्र भएर विद्यालय बन्द भएका बेला झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमले विद्यालय तहका विद्यार्थीलाई साहित्य प्रशिक्षण गराउनुहुँदै साहित्य सिर्जना र प्रस्तुतीमा अग्रसर गराउनु भएको थियो । साहित्य सिर्जनामा अग्रसर विद्यार्थीकै राष्ट्रिय सञ्जालको रुपमा नवसर्जक साहित्य चौतारी नेपाल गठन भएको हो । नवसर्जक साहित्य चौतारीमा विदेशमा रहेका नेपाली विद्यार्थी पनि आवद्ध छन् ।

नवसर्जक साहित्य चौतारीले एकसय भन्दा बढी कार्यक्रम भर्चुअल माध्यमबाट गरिसकेको चौतारीका महासचिव समर्पण न्यौपानेले जानकारी दिनुभएको छ । कार्यक्रममा चौतारीकी केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश समितिकी अध्यक्ष उषाकिरण अधिकारीले छिट्टै राष्ट्रिय बाल कवि गोष्ठीको आयोजना गर्नुका साथै सातै प्रदेशका बाल साहित्यकारलाई सम्मान तथा बाल साहित्यका अभियन्तालाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

नवसर्जक साहित्य चौतारी नेपालले हेटौंडाबाट प्रसारण हुने रेडियो निकाससँगको सहकार्यमा रेडियो कार्यक्रम समेत उत्पादन तथा प्रसारण गर्दै आएको छ । कार्यक्रममा नवसर्जक साहित्य चौतारी नेपालका परिकल्पनाकार तथा संरक्षक दीपक गौतम, बालजागृति इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सीपल विनोद सुवेदी, विभिन्न साहित्यिक संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।