हेटौंडाः नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा मकवानपुरले राष्ट्रिय पुस्तक दिवसको अवसरमा मकवानपुरको मनहरी गाउँपालिका–४, चिसापानीस्थित चेपाङ्ग आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । महासंघका पदाधिकारीहरु आइतबार विद्यालयमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन् ।
५ कक्षासम्म पठनपाठन हुने विद्यालयमा अध्ययनरत १ सय ५४ जना विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । विद्यालयलाई पनि शैक्षिक सामग्री सहयोग गरिएको महासंघ मकवानपुरका अध्यक्ष विज्ञान रिमालले जानकारी दिनुभयो । विद्यार्थी र विद्यालयलाई गरी १ लाख २५ हजार बराबरको सामान हस्तान्तरण गरिएको अध्यक्ष रिमालको भनाइ छ ।

विद्यार्थीलाई कपी, पेन्सिल, इरेजर, सार्पनर, कलर पेन्सिल, वाक्स कलर, साइनपेन, डटपेन, जेलपेन, टिफिन वक्स, औजार वक्स सहयोग गरिएको हो भने विद्यालयलाई फुटबल, भलिबल, क्रिकेट बल, क्रिकेट सेट, लुडो, चेस, क्यारिमबोर्ड, शैक्षिक चार्ट, पेन्सिल, इरेजर, सार्पनर, कलर पेन्सिल, वाक्स कलर आदी हस्तान्तरण गरिएको छ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ मकवानपुरका अध्यक्ष विज्ञान रिमालको सभाध्यक्षता तथा महासंघका केन्द्रीय सहकोषाध्यक्ष किरणवावु न्यौपानेको प्रमुख आतिथ्यमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा महासंघका केन्द्रीय सदस्य वासु न्यौपाने, चेपाङ्ग प्राथमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र न्यौपाने, महासंघ मकवानपुरका पूर्वअध्यक्ष प्रेमलाल श्रेष्ठ, उपाध्यक्ष पुष्कल नेपाल, सहसचिव अर्चना कार्की, सदस्य जमुना कुमारी रुपाखेती, प्रल्हाद हुमागाईको पनि आतिथ्य रहेको थियो ।
सरस्वती पुजा तथा बसन्तपञ्चमीको अवसरमा मनाइने राष्ट्रिय पुस्तक दिवस नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको स्थापना दिवस पनि हो ।