हेटौंडाः बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले चितवन जिल्लाको विभिन्न स्थानमा निर्माणाधिन विकास निर्माण र विद्यालयहरुको अनुगमन गर्नुभएको छ । उहाँले चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकामा एक दर्जन बढी विद्यालय, शिक्षालय, कभर्ड हल र विकास, निर्माणको अनुगमन गर्नुभएको हो ।
मन्त्रालय अन्तर्गत निर्माणाधिन तथा संचालित विद्यालय र बहुप्राविधिक शिक्षालयहरुको भवन, प्रयोगशालाहरु, कभर्ड हल, एक विद्यालय एक उद्यम कार्यक्रम अन्तर्गत विद्यालयहरुमा संचालित हाँस पालन, धान खेती लगायतको अनुगमन गरेको हो । मन्त्री मोक्तान नेतृत्वको टोलीले आइबार भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमुना माध्यमिक विद्यालय, नारायणी बहुप्राविधिक शिक्षालय, भरतपुर–२२ स्थित निर्माणाधिन कभर्ड हल, भरतपुर–२३ स्थित भरतपुर बहुप्राविधिक शिक्षालयको अनुगमन गरेको हो ।
माडी नगरपालिकामा निर्माणाधिन कभर्ड हल, माडी–८ स्थित जनजीवन माध्यमिक विद्यालयमा प्रविधि सहयोग, तटबन्धन र वाल निर्माण, माडी–६ स्थित जनकल्याण माध्यमिक विद्यालयको हाँस पालन र धान खेती, दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय र निर्माणाधिन भवन तथा माडी–५ स्थित दिवाकर मेमोरियल विद्यालयको निर्माणाधिन भवन र धान खेती अनुगमन गरिएको थियो ।
अनुगमन टोलीलाई विद्यालयका प्रधानध्यापक तथा अध्यक्ष, बहुप्राविधिक शिक्षालयका प्रमुख, निर्माण कम्पनीका प्रतिनिधिले भएका विकास र प्रगति विवरण, बजेट, समस्या र थप सहयोगबारे जानकारी गराएका थिए । मन्त्री मोक्तानले विकास निर्माणमा ढिला सुस्ती अन्त्य गरी चाँडो र गुणस्तरीय विकास निर्माण गर्न सबैलाई आग्रहसहित कर्मचारीलाई धेरै सक्रिय रहन निर्देशन दिनुभयो । अनुगमन टोलीमा सामाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुङ्गेल, आर्थिक मामिला मन्त्रालयका सचिव धनिराम शर्मा, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) बागमती प्रदेश कार्यालय हेटौंडाका निर्देशक टैलेन्द्र आचार्य लगायतको सहभागिता रहेको थियो ।
