शवदाह मेसिन जडान गर्दै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१०, राप्तीतटमा शवदाह मेसिन जडान गरेको छ । माघ महिनाको अन्त्यसम्ममा शवदाह गर्न सुरु गर्ने गरी शवदाह मेसिन जडान कार्य भइरहेको हेटौंडा उपमहानगरपालिकाका सम्पत्ति व्यवस्थापन तथा खरिद शाखाका प्रमुख बसन्तकुमार सिटौलाले जानकारी दिनुभएको छ ।

हेटौंडा उपमहानगरपालिकाले राप्तीतटमा जडान गरेको शवदाह मेसिन ।

उपमहानगरले ५५ लाख ६५ हजार रुपैयाँ लागतमा शवदाह मेसिन खरिद गरेको हो । भारतबाट ल्याइएको शवदाह मेसिनको प्रयोगपछि शवदाहको क्रममा दाउराको खपत कम हुने र छोटो समयमै शवदाहको कार्य सकिने बताइएको छ । शवको तौल अनुसार दाउरा एक सय केजीदेखि एकसय २० केजीसम्ममा एउटा शव दाह गर्न सकिने प्राविधिकको भनाइ छ । परम्परागतरुपमा शवदाह गर्दा शवको तौलअनुसार ४ सयदेखि ५ सय केजीसम्म दाउरा खपत हुने गरेको छ ।

मेसिनमा शवदाह गर्दा कुनै किसिमको शूल्क नलाग्ने पनि उपमहानगरले स्पष्ट पारेको छ । एक सय १० फिट अग्लो चिम्नीसहितको मेसिनमा शवदाह गरिने भएकोले आसपासका क्षेत्रमा दुर्गन्ध हुने समस्याको समेत समाधान हुनेछ ।