हेटौंडाः हेटौंडा–२, संगमचोकस्थित साइराम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हेटौंडा–९, एचआइडीमा सेवाकेन्द्र स्थापना गरेको छ । बिहीबार बिहान एक कार्यक्रमका बीच सेवाकेन्द्र उद्घाटन गरिएको हो ।

सहकारीमा २ हजार १ सय १५ जना शेयर सदस्यहरु रहेका छन् । सेयर पुँजी ४ करोड रुपैयाँ रहेको सहकारीले २६ करोड रुपैयाँ बचत संकलन गरेको सहकारीका व्यवस्थापक राजकुमार तिमल्सिनाले जानकारी दिनुभएको छ । यस्तै सहकारीले २२ करोड रुपैयाँ ऋण लगानी गरेको छ । हेटौंडा–९ मै स्थापना भएको सहकारीले ४ वर्षअघि हेटौंडा–२, संगमचोकमा घरजग्गा खरिद गरेर कार्यालय बजारमा सारेको थियो । बजारमा कार्यालय सारेपछि ९ नम्बर वडाका सेयर सदस्यलाई केही असहजता भएको भन्ने गुनासोसँगै ९ नम्बर वडामा सेवाकेन्द्र स्थापना गरिएको सहकारीका सह–सचिव डीबी बर्तौलाले जानकारी दिनुभयो । ९ नम्बर वडामा सेवाकेन्द्र स्थापना भएपछि सहकारीका ६० प्रतिशत सेयर सदस्यलाई सहज हुने व्यवस्थापक तिमल्सिनाले बताउनुभयो ।

सहकारीका अध्यक्ष राजेन्द्र पौडेलको सभाध्यक्षता तथा हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको प्रमुख आतिथ्यमा सेवाकेन्द्र उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका प्रमुख रामेश्वर अर्याल, बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरि न्यौपाने, टोल विकास संस्था समन्वय समिति हेटौंडा ९ का अध्यक्ष यदुवंश खतिवडा, नारायणी बहुउद्देश्यीय साकोसका उपाध्यक्ष रामचन्द्र दाहाल, वेतखोल्सी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बासुप्रसाद प्याकुरेल, संस्थापक अध्यक्ष तुलसा रेग्मीको पनि आतिथ्य रहेको थियो ।