हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अभिव्यक्ति गैरजिम्मेवार, पदीय मर्यादा विपरित र गैरकानुनी भएको भन्दै नेकपा एमालेले खेद व्यक्त गरेको छ । बिहीबार बागमती प्रदेश सभामा नेकपा एमालेका प्रमुख सचेतक दीपक निरौलाले एक विज्ञप्ति जारी गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले सरकारले खर्च नगरे कसले खर्च गर्छ ? भन्ने अभिव्यक्ति गैरजिम्मेवार, पदीय मर्यादा विपरित र गैरकानुनी भएको दावी गरेको छ ।

‘सरकारले अन्धाधुन्ध गरेको खर्चको आम नागरिक, बुद्धिजिवी तथा सञ्चार जगतले तीव्र विरोध गरिरहँदा प्रदेश सरकारका प्रमुख स्वयम्ले सरकारले खर्च नगरे कस्ले गर्छ त ? भन्ने अत्यन्तै गैह्र जम्मेवार र पदीय मर्यादा विपरीत गैह्रकानूनी अभिव्यक्ति सार्वजनिक सभा समारोहहरुमा दिने, सरकारको नेतृत्व आफूले गरिरहेको समेत भूलेर प्रतिपक्ष जस्तो व्यवहार प्रस्तुत गर्ने, पदको मर्यादा भूलेर व्यक्तिगत गालीगलौजमा उत्रने क्रियाकलाप अत्यन्तै खेदजनक छ ।’ नेकपा एमाले बागमती प्रदेश सभाका प्रमुख सचेतक दीपक निरौलाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

लोकतन्त्रमा प्रतिपक्षविहीन संसदको परिकल्पना गर्नुपर्छ भन्ने मुख्यमन्त्रीको अभिव्यक्ति दम्भको पराकाष्ठा रहेको निष्कर्ष निकाल्दै एमालेले आगामी दिनमा संसदीय मान्यता र पदको गरिमा राख्न ध्यानाकर्षण गराएको छ । मुख्यमन्त्रीले सार्वजनिक सभा, समारोहमा मेरो पार्टीको कमिटि नबनेको वडामा एक रुपैयाँ पनि बजेट हाल्दिन भन्दै हिँड्नुभएको उल्लेख गर्दै प्रदेश सरकार र मुख्यमन्त्रीलाई सच्चिन एमालेले भनेको छ ।

जारी विज्ञप्तिमा बागमती प्रदेश सरकारले कानून विपरित राज्यको अहीत हुनेगरी र राज्य स्रोतको चरम दुरुपयोग गर्नेगरी गरेका काम कारवाहीहरुले नेकपा (एमाले) संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । प्रदेश गौरवका आयोजनाहरु कटौती गर्ने तथा कानून, आर्थिक अनुशासन, चलनचल्ती एवम् न्युनतम् मूल्य र मान्यताहरुलाई कुल्चँदै रकमान्तर गर्ने, योजना कटौति गर्ने, महत्वपूर्ण परियोजनाहरुका कामहरु अवरुद्ध गर्ने जस्ता गैरजिम्मेवारीपूर्ण काम गरिरहेको पनि एमालेको आरोप छ ।

सम्झौता भईसकेका योजनाहरु पनि रद्द गर्न निर्देशन दिने, सम्झौता हुन बाँकी तर निर्णय भइसकेको योजनाहरुको सम्झौता नगराउने काम गरिरहेको पनि एमालेले जनाएको छ । मन्त्रालय फुटाएर प्रशासनलगायत अन्य खर्च बढाएर राज्यस्रोतको चरम र लापरवाहीपूर्ण तरिकाले दुरुपयोग भईरहँदा नेकपा एमाले हेरेर नबस्ने र त्यस्ता क्रियाकलापको जनता समक्ष भण्डाफोर गरिने चेतावनी पनि एमालेले दिएको छ ।

सरकारले मन्त्रालय फुटाए पनि कर्मचारीहरु व्यवस्थापन गर्न नसकेको, जनताका कामहरु हुन नसकेको, जताततै अस्तव्यस्तताहरु सिर्जना गरेको एमालेले जीकिर गरेको छ । एमालेले जस्तोसुकै परिस्थिति आइपरे पनि अविचलित भई देशको मूल कानून र ऐन, नियमको परिधि भित्र रही काम गर्न कर्मचारीलाई अनुरोध गरेको छ ।