मीनप्रसाद लामिछानको कविता संग्रहको गाताको फोटो ।

हेटौंडाः मकवानपुरका हाँस्यव्यंग्यकार मीनप्रसाद लामिछानेको पहिलो कृति ‘मैले जिउन जानिनँ’ माघ अन्तिममा सार्वजनिक हुने भएको छ । शिक्षण पेशामा रहनुभएका लामिछाने ५ वर्ष यता हाँस्यव्यंग्य विधामा कलम चलाउँदै आउनुभएको छ । राजनीतिक, सामाजिक विकृतिलाई विषयवस्तु बनाएर लामिछानेले पहिलो पटक व्यंग्य कविता संग्रह तयार पार्नुभएको हो ।

५ वर्षयता विभिन्न समयमा लेखिएका रचनाहरु समेटिएको छ । कृतिको साहित्यकारद्वाय निमेष निखिल र पुरुषोत्तम आचार्यले सम्पादन गर्नुभएको छ । ४१ वटा कविता रहेको संग्रह सिस्नुपानी नेपालले प्रकाशन गर्न लागेको हो । करिब ६० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको लामिछानेले बताउनुभएको छ । ११९ पृष्ठ रहेको कृति ५ सयदेखि एक हजारप्रति प्रकाशित गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । कविता संग्रह हेटौंडा–१० स्थित प्रयास छापाखानामा मुद्रण हुँदैछ ।

हेटौंडा–४ निवासी लामिछानेले मकवानपुर क्याम्पसबाट वाणिज्य संकायमा स्नात्तक उत्तीर्ण गर्नुभई एक वर्षे बीएड तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टबाट अंग्रेजी साहित्यमा स्नात्तकोत्तर उत्तीर्ण हुनुहुन्छ । साहित्य संगमको नियमित साहित्य सन्ध्यामा सहभागी हुनुभएपछि नियमित लेखनमा प्रेरित भएको लामिछाने बताउनुहुन्छ । सिस्नुपानी नेपाल मकवानपुरका उपाध्यक्ष समेत रहनुभएका लामिछाने व्यंग्य कवितासँगै व्यंग्यशैलीमै मुक्तक, निबन्ध र लघुकथा पनि लेख्नुहुन्छ ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ स्थित भानु माविमा २३ वर्ष शिक्षण सेवामा रहनुभएका लामिछानेले ९ वर्ष प्रधानाध्यापकको जिम्मेवारी समेत सम्हाल्नु भयो । १४ वर्षदेखि चन्द्रोदय माविमा कार्यरत लामिछाने निमावि द्वितीय श्रेणीको स्थायी शिक्षक हुनुहुन्छ ।