हेटौंडाः बंगलादेशको राजधानी ढाकामा आइतबार सम्पन्न २० औं ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा दुई नेपाली फिल्मले उत्कृष्टताको अवार्ड जितेका छन् । १७ वटा अवार्ड वितरण गर्दै समापन भएको समारोहमा ‘ऐना झ्यालको पुतली’ निर्देशक सुजित बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड जित्नुभएको छ । विडारी हेटौंडा–११, नवलपुरका स्थायीवासी हुनुहुन्छ ।

एसियन सिनेमा विधाको यो प्रतिस्पर्धामा सुजित उत्कृष्ट निर्देशक ठहरिनु भएको हो । यही विधामा उत्कृष्ट फिल्मको अवार्ड भने भारतबाट यो साल अस्करमा सिफारिस गरिएको तमिल फिल्म ‘पेब्बल्स’ ले जित्यो । यसैगरी किरण पोखरेलको निर्माणाधीन फिल्म ‘पुतलीको सपना’ ले स्क्रिप्ट ल्याबमा प्रथम पुरस्कार हात पार्यो । ‘वेस्ट मिट इस्ट’ स्क्रिनप्ले ल्याबमा प्रथम पुरस्कारसँगै फिल्मले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।

महोत्सवमा सहभागी हुन ढाका पुगेका दुवै फिल्मकर्मीले आफूले जितेका पुरस्कार ग्रहण गर्न पाएनन् । ढाका पुगेका उनीहरू कोभिड १९ संक्रमित भएपछि होटलमा लाइभमा आफू विजेता बनेको हेरेर चित्त बुझाए ।

निर्देशक सुजित बिडारीले आफूहरू संक्रमित भएपछि होटलमै बसेर समारोह हेरेको जानकारी गराए । संक्रमणमुक्त भएपछि उनीहरू नेपाल फर्कनेछन् । दक्षिण कोरियामा वर्षेनी हुने बुसान फिल्म फेस्टिभलमा मुख्य प्रतिस्पर्धामा छानिने पहिलो नेपाली फिल्मको रेकर्ड बनाएको ‘ऐना झ्यालको पुतली’ ले ठूलो फेस्टिभलमा पहिलो अवार्ड जितेको हो । ढाकामा आइसोलेसनमा रहेका निर्देशक सुजित बिडारीले महामारीका कारण फिल्म रिलिज गर्न नपाइरहेको अवस्थामा यो अवार्डले धाप मारेको महसुस गरेको प्रतिक्रिया दिनुभयो ।

उनले नेपाल फर्किएपछि महामारीको अवस्था हेरेर प्रदर्शन बारे छलफल गर्ने जानकारी गराउनुभयो । यो फिल्मले पितृसत्तात्मक परिवारमा हुर्किएका दिदीभाइको स्नेहको कथा प्रस्तुत छ । यसैगरी किरण पोखरेलको ‘पुतलीको सपना’ ले ढाकाको स्क्रिप्ट ल्याबमा प्रथम पुरस्कार जित्नुअघि युरोपका केही ल्याबमा पनि छनोट भएको थियो । ‘पुतलीको सपना’ आफ्नो लैंगिक परिचयका लागि आफैंभित्र संघर्ष गर्दागर्दै तत्कालिन छापामार युद्धमा होमिएकी नेपालको पहाडी भेगको किशोरीको कथा हो ।