Home कला ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सव, हेटौंडाका विडारी उत्कृष्ट निर्देशक घोषित

ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सव, हेटौंडाका विडारी उत्कृष्ट निर्देशक घोषित

हेटौंडाः बंगलादेशको राजधानी ढाकामा आइतबार सम्पन्न २० औं ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा दुई नेपाली फिल्मले उत्कृष्टताको अवार्ड जितेका छन् । १७ वटा अवार्ड वितरण गर्दै समापन भएको समारोहमा ‘ऐना झ्यालको पुतली’ निर्देशक सुजित बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड जित्नुभएको छ । विडारी हेटौंडा–११, नवलपुरका स्थायीवासी हुनुहुन्छ ।

एसियन सिनेमा विधाको यो प्रतिस्पर्धामा सुजित उत्कृष्ट निर्देशक ठहरिनु भएको हो । यही विधामा उत्कृष्ट फिल्मको अवार्ड भने भारतबाट यो साल अस्करमा सिफारिस गरिएको तमिल फिल्म ‘पेब्बल्स’ ले जित्यो । यसैगरी किरण पोखरेलको निर्माणाधीन फिल्म ‘पुतलीको सपना’ ले स्क्रिप्ट ल्याबमा प्रथम पुरस्कार हात पार्यो । ‘वेस्ट मिट इस्ट’ स्क्रिनप्ले ल्याबमा प्रथम पुरस्कारसँगै फिल्मले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।

महोत्सवमा सहभागी हुन ढाका पुगेका दुवै फिल्मकर्मीले आफूले जितेका पुरस्कार ग्रहण गर्न पाएनन् । ढाका पुगेका उनीहरू कोभिड १९ संक्रमित भएपछि होटलमा लाइभमा आफू विजेता बनेको हेरेर चित्त बुझाए ।

निर्देशक सुजित बिडारीले आफूहरू संक्रमित भएपछि होटलमै बसेर समारोह हेरेको जानकारी गराए । संक्रमणमुक्त भएपछि उनीहरू नेपाल फर्कनेछन् । दक्षिण कोरियामा वर्षेनी हुने बुसान फिल्म फेस्टिभलमा मुख्य प्रतिस्पर्धामा छानिने पहिलो नेपाली फिल्मको रेकर्ड बनाएको ‘ऐना झ्यालको पुतली’ ले ठूलो फेस्टिभलमा पहिलो अवार्ड जितेको हो । ढाकामा आइसोलेसनमा रहेका निर्देशक सुजित बिडारीले महामारीका कारण फिल्म रिलिज गर्न नपाइरहेको अवस्थामा यो अवार्डले धाप मारेको महसुस गरेको प्रतिक्रिया दिनुभयो ।

उनले नेपाल फर्किएपछि महामारीको अवस्था हेरेर प्रदर्शन बारे छलफल गर्ने जानकारी गराउनुभयो । यो फिल्मले पितृसत्तात्मक परिवारमा हुर्किएका दिदीभाइको स्नेहको कथा प्रस्तुत छ । यसैगरी किरण पोखरेलको ‘पुतलीको सपना’ ले ढाकाको स्क्रिप्ट ल्याबमा प्रथम पुरस्कार जित्नुअघि युरोपका केही ल्याबमा पनि छनोट भएको थियो । ‘पुतलीको सपना’ आफ्नो लैंगिक परिचयका लागि आफैंभित्र संघर्ष गर्दागर्दै तत्कालिन छापामार युद्धमा होमिएकी नेपालको पहाडी भेगको किशोरीको कथा हो ।

Exit mobile version