हेटौंडाः चित्तल संरक्षणका लागि ध्यानाकर्षण गराउन वन विज्ञान क्याम्पसका विद्यार्थीले सोमबार हेटौंडा उपमहानगरपालिका अगाडि प्रदर्शन गरेका छन् । हेटौंडा–१० स्थित वन विज्ञान क्याम्पस परिसरमा कुकुरको आक्रमणबाट चित्तलको मृत्यु भएपछि चित्तल संरक्षणको माग गर्दै विद्यार्थीले सोमबार बिहान उपमहानगरअगाडि प्रदर्शन गरेका हुन् ।
पछिल्लो दुई साताको अवधिमा चित्तलका ४ वटा पाठापाठी कुकुरको आक्रमणमा मारिएपछि सरोकारवालालाई ध्यानाकर्षण गराउने प्रयास गरिएको विद्यार्थी सुजन खतिवडाले जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिकाका मेयर र उपमेयर दुवैजनालाई नभेटिएपछि विद्यार्थीहरुले हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले कुकुरको आक्रमण रोक्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस्तै वन विज्ञानका विद्यार्थीले डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख शिव सापकोटालाई पनि भेटेर वन्यजन्तुमाथि भइरहेको आक्रमण र मृत्युलाई रोक्न आवश्यक पहल गरिदिन आग्रह गरेको छ । विद्यार्थीहरुले वन्यजन्तुको संरक्षणमा सरोकारवालाले ध्यान नदिएको भन्दै पटक–पटक ध्यानाकर्षण गराउँदै आएको छ ।