चित्तल नियन्त्रणका लागि वन विज्ञान विषयका विद्यार्थीले सोमबार बिहान क्याम्पस परिसरमा गरेको प्रदर्शन ।

हेटौंडाः पछिल्लो दुई साताको अवधिमा हेटौंडा–१०, वनविज्ञान क्याम्पस परिसरमा चित्तलका ४ वटा पाठपाठी कुकुरको आक्रमणमा मारिएका छन् । खुलारुपमा छाडिएका कुकुरको आक्रमणमा चित्तल, मृगहरु असुरक्षित बन्दै गएको छ ।

कुकुरको आक्रमणबाट सोमबार बिहान मरेको चित्तल ।

चित्तल, मृगको मारिएको विषयलाई लिएर वन विज्ञान संकायका विद्यार्थीले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि क्याम्पस प्रशासन, स्थानीय सरकार कसैले पनि गम्भीर रुपमा लिएका छैनन् । सोमबार बिहान पनि करिब साढे ८ बजेको समयमा एउटा पाठो चित्तललाई कुकुरले आक्रमण गरेको अवस्थामा विद्यार्थीले देखेर उद्दारको प्रयास गरेका थिए । तर, कुकुरको आक्रमणबाट गम्भीर घाइते भएको चित्तलको मृत्यु भएको वन विज्ञान संकायका विद्यार्थी सुजन खतिवडाले जानकारी दिनुभएको छ ।

चित्तलमाथि कुकुरको आक्रमण नियन्त्रणका लागि आजै हेटौंडा उपमहानगरपालिकालाई ध्यानाकर्षण गराउने वन विज्ञान संकायका विद्यार्थीले जनाएका छन् । बजारक्षेत्रसँगै घना जंगल, नदि, घाँसे मैदान भएका कारण चित्तलको सुरक्षित बासस्थानको रुपमा वन विज्ञान क्याम्पस क्षेत्र रहे पनि खुला कुकुर नियन्त्रण नहुँदा चित्तल र मृग मारिने क्रम जारी छ । १० देखि १५ वटाको संख्यामा रहेका खुला कुकुरले नियमितजसो चित्तल र मृगलाई आक्रमण गर्ने गरेको छ ।