हेटौंडाः व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधितर्फ स्नातक तह प्रथम वर्षमा भर्ना खुला भएको छ । त्रिभुवन विश्वविद्यालयद्वारा एक महिनाअघि नै सम्पूर्ण क्याम्पसहरुलाई पत्राचार गर्दै भर्ना अभियान सुरु गर्न आग्रह गरिएको हो ।
कोरोना भाइरस संक्रमण जोखिमका कारण दुई पटकसम्म कक्षा १२ को परीक्षा स्थगित भएको थियो । दुई पटक स्थगित भएको कक्षा १२ को परीक्षा ५ महिनापछि विद्यार्थीले दिन पाएका थिए । परीक्षा भएको करिब दुई महिनापछि राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।
जनप्रिय बहुमुखी क्याम्पस, हेटौंडा–१६ का प्रमुख विजय नेपालले कक्षा १२ को नतिजा सार्वजनिक भएपश्चात् सुरु भएको भर्ना अभियानमा १२ जनामात्र विद्यार्थी भर्नाका लागि सम्पर्कमा आएको जानकारी दिनुभयो । शिक्षा शास्त्रमात्र अध्यापन हुने जनप्रिय बहुमुखी क्याम्पसमा ज्योति मावि, बालबोध मावि, राजदेवी मावि र चुरियामाई माविबाट अध्ययनका लागि विद्यार्थी आउने गर्दछन् । कक्षा १२ का केही विद्यार्थी मौका परीक्षा दिएर नतिजाको प्रतीक्षामा रहेका कारण विद्यार्थी भर्नाका लागि समय लाग्ने उहाँले बताउनुभयो ।
स्नातह तह प्रथम वर्ष अध्ययनका लागि क्याम्पसमा एक सय ६० जनाको कोटा रहेको छ । भर्ना अभियान सुरु भएको एक महिना हुँदा पनि हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा भने भर्ना अभियान सुरु हुनसकेको छैन । कतिपय विद्यार्थी जिल्ला बाहिरबाट पनि क्याम्पसमा अध्ययनका लागि आउने क्याम्पसका प्रशासन प्रमुख कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
भर्ना अभियान सुरु भए पनि कोरोना भाइरस संक्रमणका कारण न्यून संख्यामा मात्र विद्यार्थी भर्ना भएको नारायणी कलेजका प्रमुख लक्ष्मण बस्नेतले बताउनुभयो । वाणिज्य संकायमात्र अध्यापन हुने हेटौंडा–१० स्थित नारायणी कलेजमा ४० जना विद्यार्थी भर्नाका लागि कोटा रहेको बताइएको छ ।
जिल्लाकै सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्ने हेटौंंडा—२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा मानविकी, वाणिज्य, शिक्षा र विज्ञान चारवटै संकायमा स्नातक तहमा अध्यापन हुने गरेको छ । क्याम्पसबाट एक हजार एक सय ६६ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका भए पनि करिब २० प्रतिशत विद्यार्थी पूरक तथा मौका परीक्षा दिई नतिजाको पर्खाइमा रहेको क्याम्पस प्रमुख डा. शंकर उपाध्यायले बताउनुभयो ।
स्नातक तह प्रथम वर्षमा अध्ययनका जिल्लाबाहिरबाट पनि थुप्रै विद्यार्थी आउने उहाँले जानकारी दिनुभयो । अहिले कोरोना भाइरस संक्रमणका कारण भौतिक उपस्थितिमा शिक्षण सिकाई बन्द रहेकाले भौतिकरुपमा उपस्थित भई भर्ना गर्ने वातावरण नरहेको क्याम्पस प्रमुख डा. उपाध्यायले बताउनुभयो । हजारौं विद्यार्थी भर्ना गर्ने क्षमता भए पनि मकवानपुर बहुमुखी क्याम्पसमा पनि भर्ना हुन आउनेहरु न्यून नै छन् ।
कक्षा १२ को परीक्षा दिएर बस्नुभएका अस्मिता दाहाल अहिले क्याम्पस नखुलेपछि घरमै बसिरहेको बताउनुहुन्छ । स्नातह तह प्रथम वर्षमा मानविकी संकायमा अध्ययनका लागि भर्ना हुने लक्ष्य लिनुभएका दाहालले परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण तत्कालै क्याम्पस भर्ना हुन नसक्ने बताउनुभयो । ‘भर्ना र ड्रेसका लागि मात्र करिब २५ हजार रुपैयाँ खर्च हुन्छ’, दाहालले भन्नुभयो– ‘विहान र बेलुकाको छाक टार्न मुस्किल छ, भर्ना गर्न अहिले पैसा कहाँ हुनु ?’ क्याम्पस खुलेपछि पढ्दै जाने र पैसा भएपछि भर्ना हुने उहाँले बताउनुभयो ।
स्नातक तहमा अध्ययनका लागि योग्य भए पनि विद्यार्थी रश्मी सिग्देलले अहिलेसम्म भर्ना गर्नुभएको छैन । ‘कोरोना भाइरस संक्रमणका कारण अहिले पढाइ हुँदैन, अहिले नै किन भर्ना गर्नु ?’ सिग्देलले प्रतिप्रश्न गर्नुभयो । पूरक तथा मौका परीक्षा दिएर नतिजाको तयारीमा रहनुभएका राजन भट्ट र स्वस्तिका न्यौपाने भने नतिजा आएपछि मात्र के गर्ने र नगर्ने भन्ने विषयमा निर्णय हुने बताउनुहुन्छ ।
स्नातक तहमा अध्ययनका लागि कक्षा १२ का सबै विषयमा डी प्लस तथा ३० नम्बर आउनुपर्दछ । कोरोना भाइरस संक्रमण जोखिमका कारण लामो समयसम्म निषेधाज्ञा भएपछि कक्षा १२ को नियमित परीक्षा सम्बन्धित विद्यालय तथा क्याम्पसमा नै भएको थियो । तर, राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको पूरक तथा मौका परीक्षा भने सिमित परीक्षा सेन्टर कायम गरेर लिएको छ । निर्धारित समयभन्दा ५ महिनापछि भएको परीक्षामा पास गर्न नसकेका विद्यार्थीले पूरक परीक्षा दिएका छन् ।