निर्मल माविको व्यवस्थापन समिति अध्यक्ष र सदस्यहरु ।

हेटौंडाः अभिभावक भेला भएको एक वर्षपछि हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल माविको व्यवस्थापन समितिले पूर्णता पाएको छ । महिला प्रतिनिधि चयनमा भएको ढिलाईका कारण विद्यालय व्यवस्थापन समिति गठनमा ढिलाई भएको हो । शुक्रबार महिला सदस्य चयनमा सहमतिपछि अमृत ओलीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।

विद्यालयका प्रधानाध्यापक प्रवोध विडारीका अनुसार २०७७ साल माघ ९ गते भएको अभिभावक भेलामा विद्यालय व्यवस्थापन समितिको सदस्यमा खुलातर्फ अमृत ओली र राजकुमार सिन्तान चयन हुनुभएको थियो । शुक्रबार महिला सदस्यमा सन्चमाया सिन्तान र आशा पाठकलाई सर्वसम्मत चयन गरिएपछि विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएको हो । विद्यालय व्यवस्थापन समितिको सदस्यमा शान्तिमाया प्रजा र तीर्थराज दाहाललाई मनोनित गरिएको छ भने वडा अध्यक्ष नरनाथ सुवेदी पदेन सदस्य हुनुहुन्छ । शिक्षक प्रतिनिधि प्रेम लामा हुनुहुन्छ भने विद्यालयका प्रधानाध्यापक प्रवोध विडारी सदस्य सचिव हुनुहुन्छ ।

कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा एक हजार सात सय विद्यार्थी अध्ययनरत छन् । प्रधानाध्यापक विडारीका अनुसार १० कक्षासम्म एक हजार विद्यार्थी अध्ययनरत छन् भने कक्षा ११ र १२ मा ६ सय विद्यार्थी अध्ययनरत छन् । यस्तै प्राविधिकतर्फ सिटिइभिटिको इलेक्ट्रिकल इन्जिनियरिङमा ९० जना विद्यार्थी अध्ययनरत छन् ।