हेटौंडाः हेटौंडा–१५, रातोमाटेस्थित जनजागृति माध्यमिक विद्यालयको २२ औं अभिभावक भेला तथा ५० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । भेलामा अभिभावकहरुले कोभिडका कारण खस्किएको शैक्षिक उपलब्धिलाई उकास्न शिक्षकले अहम् भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

विद्यालयका प्रधनाध्यापक दीपकलाल खतिवडाले विद्यालयको शैक्षिक गतिविधि प्रस्तुत गर्नुहुँदै आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ पनि सञ्चालन गरिने बताउनुभएको छ । यस्तै अतिरिक्त क्रियाकलापलाई आगामी दिनमा कसरी अघि बढाउनेजस्ता योजनाहरुसमेत प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा कक्षागत प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई पुरस्कारसमेत वितरण गरिएको थियो । यसैगरी कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई छात्रवृत्तिस्वरुप ३० हजार रुपैयाँ बराबरको ५० जनालाई स्टेशनरी समान वितरण गरिएको खतिवडाले जानकारी दिनुभयो ।

विद्यालयको आयव्यय तथा आर्थिक प्रगति विवरण लेखापाल चन्द्रवती लामाले प्रस्तुत गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर मोक्तानको सभाध्यक्षता तथा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । विद्यालयमा हाल ४ सय १८ जना विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।