हेटौंडाः नेकपा एमालेको जिल्ला अधिवेशन आज शुक्रबारबाट सुरु हुँदैछ । देशभर एकैसाथ ७७ वटै जिल्लामा हुने अधिवेशनअन्तर्गत् मकवानपुरमा पनि ११ औं जिल्ला अधिवेशन हुन थालेको हो ।

अधिवेशन नजिकिएसँगै पार्टीका नेता तथा कार्यकर्तामा समेत चहलपहल बढेको छ । यस्तै ११ औं जिल्ला अधिवेशको सम्पूर्ण तयारी पूरा भएको नेकपा एमाले मकवानपुरले जनाएको छ । एमाले मकवानपुरले जिल्ला अधिवेशको पूर्वसन्ध्यामा बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर हेटौंडाको रोयल पार्टी प्यालेसमा कार्यक्रम हुने गरी तयारी पूरा भएको जनाएको हो । नेकपा एमाले मकवानपुरका प्रचारप्रसार उपसमिति संयोजक नवीन सिग्देलले अधिवेशनको कार्यतालिकासहित प्रतिनिधि तथा चयन हुने पदाधिकारीको संख्याको बारेमा जानकारी दिनुभएको छ ।

एमाले मकवानपुरको अधिवेशन कार्यक्रम बिहान ११ः३० बजेबाट सुरु हुने भएको छ । यस्तै मध्याह्न १२ बजे ७७ वटै जिल्लामा हुने अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यतालिका रहेको संयोजक सिग्देलले बताउनुभयो । यद्यपि एमाले अध्यक्ष ओली काभ्रे जिल्ला अधिवेशनमा प्रत्यक्ष उपस्थित भएर त्यहीँबाट अन्य सबै जिल्लामा भर्चुअल माध्यमबाट उद्घाटन हुने जनाइएको छ । यसैगरी मकवानपुर जिल्ला अधिवेशनमा एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश ईन्चार्ज काशिनाथ अधिकारीको विशेष आतिथ्यतामा कार्यक्रम उद्घाटन हुने जिल्ला अधिवेशनको शुक्रबार साँझ ५ बजेबाट बन्द सत्रको कार्यक्रम सुरु हुने पनि सिग्देलले जानकारी दिनुभयो ।

शुक्रबार बन्दसत्र सुरु भएपछि साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ भने अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुनेछ । यस्तै राति ११ बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम रहेको जनाइएको छ । २४ गते बिहान २ बजे उम्मेदवारको प्रारम्भीक नामावली प्रकाशन र २४ गते बिहान ८ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने ८ बजे अन्तिम नामावली प्रकाशन गरिने संयोजक सिग्दलले बताउनुभयो । यसैगरी शनिबार १० बजेदेखि ४ बजेसम्म मतदान कार्यक्रम हुने पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मतदान क्वीक ट्वान्टी पार्टी प्यालेसमा हुनेछ । सोही दिन ४ बजेपछि मतगणना एमाले मकवानपुरको पार्टी कार्यालयमा नै हुने कार्यक्रम रहेको छ ।

महिलालाई ३३ प्रतिशत आरक्षण

नेकपा एमालेको जिल्ला अधिवेशनबाट बन्ने जिल्ला कमिटीमा महिलाहरुलाई ३३ प्रतिशत स्थान सुरक्षित गरिएको एमाले मकवानपुरले जनाएको छ । एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाले एक पदाधिकारीसहित जिल्ला सदस्यमा ३३ प्रतिशत महिला सहभगिता रहने गरी स्थान सुरक्षित गरिएको बताउनुभएको छ ।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र एक जना महिलासहित २ जना उपसचिव गरेर जम्मा १ सय ५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ । जिल्ला कमिटी निर्माणका लागि एमाले मकवानपुरले भौगोलिक सर्कुलरसमेत जारी गरेको छ । जसमा हेटौंडा उपमहानगरपालिकाबाट ६ जना खुला र ४ जना महिलासमेत गरी १० जना, बकैया गाउँपालिका र थाहा नगरपालिकाबाट ४/४ जना खुला र २/२ जना महिलासहित ६÷६ जना, बागमती, भीमफेदी, मनहरी, कैलाश र राक्सिराङ गाउँपालिकाबाट ४/४ जना खुला र १/१ जना महिला गरी ५/५ जना जिल्ला कमिटीमा चयन हुनेछन् । यस्तै मकवानपुरगढी गाउ“पालिकाबाट ३ जना खुला र १ जना महिला गरी ४ जना र ईन्द्रसरोवर गाउँपालिकाबाट २ जना खुला र १ जना महिला गरी ३ जनालाई जिल्ला कमिटीमा समावेश गर्ने सर्कुलर रहेको छ ।

यस्तै, मजदुर इलाका ४ जना खुला र १ जना महिलासहित ५ जना, पेशागत तर्फबाट १ जना महिला र १ खुला गरी २ जना, जनजाति, मुस्लिम, अल्पसंख्यक, अपांग तथा सिमान्तकृतहरुबाट ४ जना खुला र २ जना महिला गरी ६ जनाले जिल्ला कमिटीमा स्थान बनाउनेछन् । त्यसैगरी दलितमा २ जना खुला र १ जना महिला गरी ३ जना, महिला खुलामा १४ जना र अन्य खुलामा १६ जना गरी जम्मा १ सय ५ जना सदस्यलाई समावेश गर्दै एमाले मकवानपुरको जिल्ला कमिटी निर्माण हुने जनाइएको छ ।

यस हिसाबले एमाले जिल्ला कमिटीमा कम्तिमा पनि ३५ जना महिलालाई स्थान सुरक्षित गरिएको छ भने यसबाहेक खुला तर्फबाट पनि महिलाहरुले उम्मेदवारी दिन पाउने जिल्ला इन्चार्ज रानाले बताउनुभयो । उहाँले जिल्ला अधिवेशनपछि एमाले गाउँगाउँ गएर पार्टीका गतिविधिलाई तिब्रता दिने बताउनुभएको छ । अहिलेको सत्ता गठबन्धन सरकारले विकास निर्माणको कामलाई अघि बढाउन नसकेको टिप्पणी गर्नुहुँदै उहाँले नेपाली जनताको समृद्ध नेपाल, सुखी नेपालीको चाहना एमालेले मात्र पूरा गर्न सक्ने दाबी गर्नुभयो ।

जिल्ला अधिवेशनमा आयोजक प्रतिनिधि ३ सय ३५ जना, मनोनित प्रतिनिधि ३९ जना, भौगोलिकरुपमा हेटौंडा उपमहानगरपालिकाकाबाट १ सय ४९ जना, थाहा नगरपालिकाबाट ४२ जना, मकवानपुरगढी गाउँपालिकाबाट ३२ जना, बकैया गाउँपालिकाबाट ३० जना प्रतिनिधि सहभागी हुने जनाइएको छ । यसैगरी मनहरी गाउँपालिकाबाट २९ जना, राक्सिराङ गाउँपालिकाबाट २८ जना, कैलाश र बागमती गाउँपालिकाबाट २५/२५ जना, भीमफेदी गाउँपालिकाबाट २४ जना र ईन्द्रसरोवर गाउँपालिकाबाट २१ जना प्रतिनिधिहरु सहभागी हुनेछन् । यस्तै पेशागतबाट ६ जना, मजदुरबाट ९ जना र पदेन प्रतिनिधि ८ जना गरी कुल ८ सय २ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने एमाले मकवानपुरले जनाएको छ ।

प्रेस चौतारी मकवानपुर जिल्ला कमिटीको आयोजनामा भएको पत्रकार सम्मेलनमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, एमाले केन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल, संविधानसभा सदस्य तथा एमाले बागमती प्रदेश सदस्य अनन्त पौडेल, प्रदेश सदस्यहरु रघुनाथ खुलाल, रामचन्द्र राई, सुवासचन्द्र ठकुरी, देवराज रिमाल, एमाले मकवानपुरका अध्यक्ष बद्री लम्साल, सचिव एकलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।