बालबालिकाहरुको धेरै समय विद्यालयमा नै बित्ने गर्दछ । त्यस अवधिको सम्पूर्ण जिम्मेवारी शिक्षकले लिनु पर्दछ । तर अभिभावकसँग बालबालिकाको समयमात्र हैन कि जीवन नै जोडिएको हुन्छ । धेरै समय विद्यालयमा बिताउने भएकाले अभिभावकहरु बालबालिकाप्रतिको आफ्नो जिम्मेवारीबाट पन्छने प्रवृत्ति बढेको छ । शुल्क तिरिदिएको छ, आवश्यक खर्च व्यवस्थापन गरिदिएकै छ, बाँकी विषय विद्यालयको हो भन्ने चिन्तनले बालबालिका र अभिभावक बीचको सम्बन्ध औपचारिकतामा मात्र सिमिति हुँदै गएको छ । जसले गर्दा पारिवारिकदेखि अभिभावक र बालबालिकाबीच हुनुपर्ने भावनात्मक सम्बन्ध नै संकटमा पर्ने परिस्थिति बन्दै गएको छ । जति समय जहाँ बिताए पनि जिम्मेवारी अभिभावककै बढी हुने गर्दछ ।


अभिभावकले बालबालिकाको गतिविधिमा निगरानी बढाउन मकवानपुरका शैक्षिक क्षेत्रका सरोकारवालाहरुले सुझाव दिएका छन् । बालबालिकाप्रति अभिभावकले आफ्नो निगरानी नबढाउने हो भने दुर्घटना टाढा छैन । शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त प्रयासले मात्र शैक्षिक गुणस्तर वृद्धि गर्न सम्भव छ । मासिक शुल्क तिर्न महिना दिन वा छ महिनामा एकपटक विद्यालय पुग्ने अभिभावकहरु बालबालिकाप्रति संवेदनहीन भएको नै हो । रकम खर्च गर्न सक्ने क्षमता वा तत्परताले मात्र अभिभावकत्व निर्वाह हुन सक्दैन । जिम्मेवारी बोध गर्नका साथै समयसमेत खर्च गर्न आवश्यक छ । नानीबाबुहरुको व्यवहारदेखि शैक्षिक अवस्था तथा साथीभाइसँगको संगतका विषयमा अभिभावक जानकार हुनै पर्दछ ।

महंगो शुल्क लिने र ठूलो भवनका आधारमा शिक्षा राम्रो हुन्छ भन्ने मान्यता अभिभावकले त्याग्नु पर्दछ । जतिसुकै महंगो शुल्क होस् वा भवन, शैक्षिक वातावरण छैन भने कुनै महत्व हुँदैन । निजी विद्यालयप्रति आकर्षित अभिभावकहरु बालबालिकासँगै विद्यालयप्रति पनि जिम्मेवार हुन सक्नु पर्दछ । विद्यालयहरुले गर्ने निर्णयमा अभिभावको सहभागिता छ वा छैन भन्ने कुरामा ध्यान पुर्‍याउनु पर्दछ । अभिभावक र विद्यालयबीच जिम्मेवारीलाई लिएर विवादसमेत हुने गरेको छ । विवादले निकास त देला, तर विवाद गर्ने अभिभावकको बालबालिकाप्रति शिक्षकले गर्ने व्यवहार तथा विद्यार्थीमा पर्ने मनोवैज्ञानिक असरको पनि ख्याल गरिनु पर्दछ । विद्यालय सञ्चालकले आम्दानीको पक्षमात्र हेर्ने र शिक्षकहरुले जागिरमात्र खाने अवस्था अन्त्य गर्न अभिभावकको सक्रियता आवश्यक छ ।

बालबालिकाको सोच र व्यवहार सकारात्मक बनाउन अभिभावकले असल जिम्मेवारी निर्वाह गर्नु पर्दछ । अत्यन्त कडा अनुशासनमा राख्न वा ज्यादै पुलपुल्याउने जस्ता व्यवहार पनि जिम्मेवारीभित्र पर्दैनन् । न्यानो माया दिनु पर्दछ तर भविश्यप्रति सचेत बनाउँदै अनुशासित र कर्तव्यपरायणता विकास गराउने जिम्मेवारी अभिभावकको हो । अभिभावकको उचित रेखदेख नपुगेको बालबालिकाले बाटो गलत लिने अवस्था पनि आउँछ । त्यतिबेला शिक्षकको जिम्मेवारी खै भनेर प्रश्न गर्न ढिला भइसकेको हुनेछ । शिक्षकलाई बालबालिकाप्रति जिम्मेवार बनाउने पहिलो कर्तव्य अभिभावककै हो । बालबालिका कुमालेको काँचो माटो हुन्, भविश्यमा कस्तो बनाउने भन्ने जिम्मेवारी अभिभावककै हातमा छ । शिक्षक र विद्यालय त निमित्तमात्रै हुनेछन् ।