हेटौंडाः बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जनताले प्राप्त गरेको उपलब्धीको रक्षाका लागि लाग्नुपर्ने बताउनुभएको छ । देशमा प्राप्त भएका उपलब्धीविरुद्ध आवाज उठाउने काम भएको भन्दै मन्त्री मोक्तानले परिवर्तनकारी पक्षधरहरु मिलेर उपलब्धीको रक्षा गर्नुपर्ने बताउनुभएको हो ।

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको दोस्रो अधिवेशनलाई बुधबार सम्बोधन गर्दै मन्त्री मोक्तानले जनताले उपलब्धिका रुपमा प्राप्त गरेको अधिकार रक्षा गर्दै थप अधिकारका लागि आ–आफ्नो तर्फबाट पहल गर्नुपर्ने बताउनुभएको छ । फोनिजको स्थापना आवश्यकताका आधारमा भएको बताउँदै सामाजिक विकास मन्त्री मोक्तानले राज्यले गर्ने असमान व्यवहारहरुका कारण यस्ता संगठन स्थापना हुने बताउनुभएको छ ।

अधिवेशनमा बागमती प्रदेशको स्वास्थ्य मन्त्री निमा लामाले बागमती प्रदेश सरकार सञ्चार क्षेत्रप्रति सकारात्मक रहेको बताउनुभयो । उहाँले सञ्चार जगतलाई आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको भन्दै अघिल्लो सरकारले आफैं सञ्चार माध्यम सञ्चालन गर्ने भन्दै विनियोजन गरेको बजेटलाई वर्तमान सरकारले खारेज गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।

कार्यक्रममा खानेपानी तथा ऊर्जामन्त्री बसन्त मानन्धरले सञ्चार क्षेत्रको विकास र सञ्चारमैत्री वातावरण निर्माण गर्न आफूले जिम्मेवारी निर्वाह गर्ने बताउनुभयो । यस्तै, भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले संघीयता कार्यान्वयनमा सबैको सकारात्मक सहयोग आवश्यक हुने बताउनुभयो ।

अधिवेशनमा दुई जना सञ्चारकर्मी सम्मानित भएका छन् । सम्मानित हुनेमा फोनिज आवद्ध अग्रज पत्रकारहरु अम्मरध्वज लामा, बुद्ध योञ्जन रहेका छन् । सम्मानित हुने दुबैजनालाई प्रतिव्यक्ति ११ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ । यसैगरी मकवानपुरका सञ्चारकर्मी कृष्ण सारु मगर र धादिङका सञ्चारकर्मी सरिता श्रेष्ठलाई पुरस्कृत गरिएको छ । प्रदेश अधिवेशन व्यवस्थापनमा सहयोग पुर्‍याएको भन्दै रामेछाप र मकवानपुरको फोनिज जिल्ला समितिलाई कदरपत्रद्वारा सम्मान गरिएको छ ।

अधिवेशनको औपचारिक कार्यक्रमका अवसरमा विभिन्न जातजाति तथा समुदायको संस्कृति झल्कने नृत्य तथा झाँकी प्रस्तुत गरिएको थियो । अधिवेशनअघि निकालिएको प्रभातफेरिले हेटौंडा बजार परिक्रमा गरिएको थियो ।

अधिवेशनमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका पूर्वअध्यक्ष प्रताप बिष्ट, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष राममणि दाहाल, वर्तमान अध्यक्ष मणिराज गौतम, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अञ्जली थापालगायत विभिन्न मिडिया संगठनका प्रतिनीधि एवम् सञ्चारकर्मीहरुको उपस्थिति थियो ।