तस्बिर गुगल

हेटौंडाः नेपाली कांग्रेस बागमती प्रदेश समितिको पहिलो बैठक हेटौंडामा बसेको छ । प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बसेको बैठकले प्रदेश समितिलाई प्रविधिमैत्री बनाउने निर्णय गरेको छ ।

प्रदेश समितिको फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल निर्माण गरी विभिन्न स्थानीयदेखि केन्द्रीय समितिसम्म प्रभावकारी समन्वयको वातावरण बनाउने निर्णय भएको महामन्त्री राजु श्रेष्ठले जानकारी दिनुभएको छ । बैठकले काठमाडौंमा प्रदेश समितिको सम्पर्क कार्यालय स्थापना गर्नेसमेत निर्णय गरेको छ । यस्तै १४ औं अधिवेशनबाट निर्वाचित प्रदेश समितिका सभापति, पदाधिकारी तथा सदस्यहरुलाई माघको पहिलो साताभित्रै प्रशिक्षण दिने निर्णय भएको पनि महामन्त्री श्रेष्ठले बताउनुभयो ।

प्रदेश अधिवेशन सम्पन्न गर्न विभिन्न तह तप्काबाट भूमिका निर्वाह गर्ने सबैमा धन्यावाद दिने प्रस्ताव पनि बैठकले पारित गरेको छ । निर्वाचन अधिकृत, केन्द्रीय तथा मकवानपुर समिति, सुरक्षा निकाय, पत्रकार, नागरिक समाज, स्वयम्सेवकलगायत अधिवेशनमा सक्रिय रहने सबैमा प्रदेश समितिले धन्यवाद दिएको छ । समितिले कांग्रेसका नवनिर्वाचित केन्द्रीय सभापतिसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरुमा बधाई तथा शुभकामना दिने प्रस्ताव पनि पारित गरेको महामन्त्री श्रेष्ठले बताउनुभएको छ ।

बैठकमा प्रदेश समितिका उपसभापति मोहनबहादुर बस्नेत, चन्द्र महर्जन, महामन्त्री कन्चनचन्द्र बादे, जीवन डंगोल, सह–महामन्त्री ऋषिराम घिमिरे, हरिशरण श्रेष्ठलगायत सदस्यहरुको उपस्थिति रहेको थियो । बैठकअघि निर्वाचन अधिकृत केशवराज काफ्लेले प्रदेश समितिका नवनिर्वाचित सभापति, पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।